सल्यान १०, असोज ।
सल्यानमा उत्पादित दूध सुर्खेत निर्यात हुन थालेको छ । जिल्लाका बिभिन्न क्षेत्रहरुमा उत्पादन भएको दूध स्थानिय वजारको माग भन्दा बढी भएपछि सुर्खेत निर्यात हुन थालेको हो । विगतमा जिल्लामा सिमित मात्रामा दूध उत्पादन हुदाँ स्थानिय बजारमा नै खपत हुदैँ आएको थियो । तर पछिल्लो समयमा व्यवसायिक रुपमा गाइभैँसी पालन गर्ने किसानहरुको संख्या बढ्दै गएका कारण अहिले जिल्लामा उत्पादन भएको दूध सुर्खेत पठाउन थालिएको हो ।
जिल्लाका प्रमुख ब्यापारिक केन्द्र श्रीनगर, खलंगा, थारमारे लगाएतका वजारमा खपत भई वचत भएको दूध सुर्खेत पठाउन थालिएको जीवन डेरी उद्योग बागचौर नगरपालिका २ वागचौरका सञ्चालक प्रेम डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा उत्पादन भएको दूध पहिलो पटक सुर्खेतमा पठाउन थालिएको हो ।
जस अनुसार सुर्खेत डेरी उद्योग प्रालि सँग सम्झौता गरेर पहिलो चरणमा २ हजार ८ सय लिटर दूध सल्यानबाट सुर्खेत पठाइएको छ । सुर्खेतबाट दूधको माग धेरै आएपनि जिल्लामा खपत भएर वचत भएको दूध मात्रै सुर्खेत पठाइएको उहाँको भनाई छ ।
‘जिल्लामा व्यवसायिक रुपमा गाइभैँसीपालन तर्फ किसानको आर्कषण बढेकाले दूध उत्पादन बढेको हो, अहिले दूध बिक्रीमा कुनै समस्या छ्रैन्, दूधबाट दही, घ्यू वनाएर बिक्री गर्नुभन्दा दूध बिक्रीबाट किसानलाई दोव्वर बढी नै फाइदा हुने भएकाले पनि किसानले उत्पादन गरेको दूध नियमित रुपमा डेरीमा संकलन भैरहेको छ’ उहाँले भन्नुभयो । २०७२ सालमा दैनिक ७ लिटर दूधबाट डेरी उद्योग सञ्चालन गरेका डाँगीले अहिले दैनिक १ हजार बढी दूध संकलन हुने गरेको जानकारी दिनुभयो ।
अहिले जीवन डेरीमा संकलन भएको दूध जिल्लाका झण्डै आधा दर्जन बढी डेरीमा जाने गरेको छ । डेरी उद्योगमा १ करोड बढी लगानी गर्नुभएका उहाँले दूध संकलन तथा वितरणका लागी २ वटा गाडी खरिद गर्नुका साथै ५ जनालाई रोजगारी समेत दिनुभएको छ । गत आर्थिक बर्ष २०७६÷०७७ मा ८९ लाख रुपैँयाको कारोवार गर्दा झण्डै ५ लाख बढी खुद वचत भएको उहाँको भनाई छ ।
डेरी उद्योग सँगै उहाँले व्यसायिक भैँसी फर्म समेत सञ्चालन गर्नुभएको छ । फर्ममा अहिले ६ वटा भैसीँ रहेको डाँगीले जानकारी दिनुभयो । यस डेरी उद्योगबाट दूध, दही र पनिर मात्रै बिक्री गर्ने गरेको बताउदैँ उहाँले मूख्यतः किसानहरुले उत्पादन गरेको दूध संकलन गरेर जिल्लाका बिभिन्न वजार तथा सुर्खेतमा पठाउने गरेको जानकारी दिनुभयो ।
नेपाल डेरी एसोशियन कर्णाली प्रदेशका अध्यक्ष समेत रहनुभएका डाँगीले अहिले जिल्लाभर १७ वटा बढी डेरी उद्योग सञ्चालनमा रहेको जानकारी दिनुभयो । यस्तै जिल्लाभरका ५ सय बढी किसानहरुले नियमित रुपमा दूध उत्पादन गर्दै आएको बताउनुभयो । बर्षातका कारण ग्रामिण सडकहरु बिगे्रकाले गाँउमा उत्पादित दूध उद्योग सम्म आउन नसकेको बताउदैँ सडक सुचारु भए दूध संकलनमा थप बृद्धि हुने उहाँको भनाई छ ।
व्यवसायिक पशुपालन फस्टाउँदै गएपछि जिल्लाका कृषकहरुले पनि दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यवसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ । विगतमा एक÷दुई वटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यवसायिक पशुपालन थालेका छन् । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेको कृषकहरुको भनाई छ ।