सल्यान-सुर्खेत जोड्ने सडक खण्डको साढेँ ३ किमी सडक कालोपत्रे हुदैँ

सल्यान १२, असोज ।

सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने श्रीनगर­खलंगा­बालुवासंग्रही सडक खण्ड कालोपत्रे गर्न थालिएको छ । केन्द्रिय सरकारको वजेट मार्फत यस आर्थिक बर्षमा यस सडक खण्डको करिब साँढे ३ किलोमिटर सडक कालेपत्रे गर्न थालिएको हो । अहिले ज्यामिरे देखी बाबियाचौर सम्मको करिब साँढे ३ किलोमिटर सडक २ प्याकेजमा कालोपत्रे गर्न थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

यस सडक सल्यानबाट प्रदेश राजधानी सुर्खेत जोड्ने महत्वपूर्ण र छोटो सडक हो । बिगत देखी नै यस सडकको स्तरोन्नती गरिएको आएकोमा यस पटक फेरी करिब साँढे ३ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको कार्यालयको भनाई छ । मंसिर मसान्त सम्म काम सम्पन्न गर्ने गरी दुई निर्माण कम्पनीले कामको जिम्मेवारी लिएका छन् ।

अहिले सडकको छेउमा ग्याभिङ लगाउने, नाली निर्माण गर्ने काम भैरहेको कार्यालयका इन्जिजियर रिकेश महर्जनले जानकारी दिनुभयो । उहाँले प्राकृतिक निशान जेवी र क्रिष्टल निर्माण सेवाले कामको जिम्मेवारी लिएको जानकारी दिनुभयो । उहाँका अनुसार भ्याट सहित प्राकृतिक निशान जेवीले १ करोड ६३ लाख र क्रिष्टल निर्माण सेवाले १ करोड ५६ लाख रुपैँयामा कामको जिम्मेवारी लिएका छन् ।

प्राकृतिक निशान जेवीका प्रोप्राइटर डिल्ली प्रकाश केसीले तोकिएको समयमा नै काम सम्पन्न गर्ने गरी अहिले काम भैरहेको जानकारी दिनुभयो । उहाँले सडकको छेउमा ग्याभिङ लगाउने काम भैरहेको र मंसिर मसान्त भित्रमा नै कालोपत्रेको काम सम्पन्न गर्ने गरी कामलाई अगाडी बढाइएको जानकारी दिनुभयो ।

सल्यानको प्रमुख पर्यटकिय क्षेत्र कुपिण्डे ताल र कर्णाली प्रदेश राजधानी जोड्ने सडक श्रीनगर­खलंगा­बालुवासंग्रहीको स्तरोन्नती नहुदाँ समस्या हुदैँ आएको छ । कच्ची सडक, बिच­बिचमा खाल्डाखुल्डी तथा बर्षातमा हिलो र दिउँदमा धुलोले गर्दा यही सडक प्रयोग गरेर आवतजावत गर्ने नागरिक तथा स्थानियलाई सास्ती हुदैँ आएको थियो ।

पछिल्लो समय यस सडक खण्डको बिभिन्न भागहरुमा स्तरोन्नतीको काम भैरहेको छ । यस सडक खण्ड स्तरोन्नती सँगै कालोपत्रे सम्पन्न भए सल्यानबाट प्रदेश राजधानी सुर्खेत करिब ३ घण्टामा नै पुगिन्छ भने कुपिण्डे ताल घुम्न आउने आन्तरिक तथा बाह्यपर्यटकहरुलाई पनि सहजता हुने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस