सल्यान १५, असोज ।
सल्यानमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी रु. ८ करोड बढी खर्च गरिएको छ । जिल्लाका दश वटा स्थानिय तह, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य सेवा कार्यालयले गत आर्थिक बर्ष २०७६/०७७ मा रु. ८ करोड २८ लाख ६० हजार खर्च गरेका हुन् । जिल्लाका दश स्थानिय तहले रु. ७ करोड ३१ लाख ९ हजार रुपैँया कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय सल्यानले रु.१८ लाख ८० हजार र स्वास्थ्य सेवा कार्यालय सल्यानले रु. ७८ लाख ७१ हजार रुपैँया खर्च गरेका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले कार्यालयबाट खर्च गरिएको रकमबाट सुरक्षाकर्मी र कर्मचारीका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गरिएको जानकारी दिएको छ । यस्तै सबै स्थानीय तहमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना रोकथाम तथा नियन्त्रणका लागी सबै क्षेत्रबाट काम भैरहेको जानकारी दिनुभयो । पिसिआर जाँचको दायरा बढाउदैँ लैजाने बताउदैँ उहाँले कोरोना संक्रमण फैलन नदिनको लागी नागरिकको भिडभाड हुनेखालका कार्यहरु पूर्ण रुपमा बन्द गरिएको बताउनुभयो ।
चाडपर्वको समयमा नागरिकहरु जिल्लामा धेरै भित्रिन सक्नेभएकाले उनीहरुको उचित व्यवस्थापनको लागी क्वारेन्टाइन निर्माण लगाएतका तयारी गर्नको लागी स्थानिय तहलाई आग्रह गरिएको जानकारी दिनुभयो । जिल्लामा भित्रिने नाकाहरुमा बिशेष कडाई गरिएको बताउदैँ उहाँले भन्नुभयो ‘सार्वजनिक सवारीसाधनमा पनि आबश्यक सुरक्षा सर्तकता अपनाएर मात्रै सञ्चालन गर्न निर्देशन दिएका छौँ ।’
जिल्लाका दश स्थानिय तह मध्ये सबै भन्दा धेरै बागचौर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा वजेट खर्च गरेको छ । जसमा रु.१ करोड ५० लाख ६८ हजार रुपैँया खर्च गरिएको नगरपालिकाले जनाएको छ । जसअनुसार क्वारेन्टाइन निर्माणमा ३ लाख, क्वारेन्टाइनमा बस्नेहरुको खानबस्न खर्च ३० लाख, आइसोलेसन निर्माणको तयारीका लागी सामान खरिद ९ लाख, स्वास्थ्य उपकरण खरिदमा १६ लाख, राहत वितरणमा २३ लाख, स्वमय्सेवक परिचालनमा ३८ लाख, स्वास्थ्यकर्मी लगाएतकालाई प्रोत्साहन भत्ता बाफत २४ लाख लगाएतका शिर्षकमा वजेट खर्च भएको नगरपालिकाले जनाएको छ ।
यस्तै जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाले रु.१ करोड १० लाख ८६ हजार खर्च गरेको छ । जिल्लामा नै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको यस नगरपालिकामा क्वारेन्टाइन तथा आइसोलेसन निर्माण, उद्धार तथा राहत वितरण लगाएतका कार्यमा रकम खर्च भएको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो । यस्तै जिल्लाको शारदा नगरपालिकाले ४८ लाख ५२ हजार रुपैँया खर्च गरेको जनाएको छ ।
यस्तै गाउपालिका तर्फ सबै भन्दा धेरै दार्मा गाउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा वजेट खर्च गरेको छ । यस गाउपालिकाले गत आर्थिक बर्षको असार मसान्त सम्म ८६ लाख २९ हजार रुपैँया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, बाहिरबाट फर्किएका नागरिकको व्यवस्थापन, स्वास्थ्य सुरक्षाका सामाग्री खरिद लगाएतका कार्यमा खर्च भएको गाउपालिकाले वजनाएको छ ।
यस्तै जिल्लाको कालीमाटी गाउपालिकाले ८१ लाख ४६ हजार रुपैँया खर्च भएको जनाएको छ । औषधि खरिदमा ११ लाख, अलपत्र गाउपालिकाबासीको उद्धार कार्यमा १० लाख, राहत वितरण, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन कार्यमा रकम खर्च भएको गाउपालिकाले जनाएको छ । यस्तै कुमाख गाउपालिका र छत्रेश्वरी गाउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ७०/७० लाख रुपैँया खर्च गरेका छन् ।
यस्तै क्वारेन्टाइन व्यवस्थापनमा १० लाख, आइसोलेसन निर्माण तथा व्यवस्थापनमा ९ लाख, स्वास्थ्य सामाग्री तथा उपकरण खरिदमा १२ लाख, राहत वितरणमा ३ लाख लगाएतका कार्यमा ५० लाख २९ हजार रुपैँया खर्च भएको कपुरकोट गाउपालिकाले जनाएको छ ।
यस्तै जिल्लाको त्रिबेणी गाउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ३८ लाख रुपैँया खर्च गरेको छ । गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले क्वारेन्टाइन व्यवस्थापन, नागरिकको उद्धार, स्वास्थ्य सामाग्री खरिद तथा व्यवस्थापन, एक हजार घरपरिवारलाई २ चरणमा राहत वितरण लगाएतका कार्यमा रकम खर्च भएको जानकारी दिनुभयो ।
जिल्लाका दश स्थानिय तह मध्ये सबै भन्दा कम जिल्लाको सिद्ध कुमाख गाउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा वजेट खर्च गरेको छ । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले गत आर्थिक बर्षको अन्त्य सम्ममा कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा २५ लाख रुपैँया खर्च भएको जानकारी दिनुभयो ।