सल्यान २१, असोज ।
सल्यानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । वडादशैँ, तिहार, छठ लगाएतका चाडपर्वको बेला यात्रुहरूलाई सुरक्षित हिसाबले गन्तव्यतर्फ पुग्ने वातावरण सिर्जना गर्ने उद्देश्यले जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरको बसपार्कमा बुधवार यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
चाडपर्वको समयमा यात्रुहरुलाई पर्नसक्ने विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बढी भाडा लिएको, सवारी साधनमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएको र यात्रुलाई अन्य कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी सहायक निरीक्षक सन्दीप बिकले जानकारी दिनुभयो ।
चाडपर्वको समयमा हुने यात्रुहरुको चापलाई व्यवस्थित गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँको भनाई छ । ‘कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले चाडपर्वमा हुनसक्ने यात्रुहरुको भिडभाडलाई व्यवस्थित गर्ने उद्धेश्यका साथ सहायता कक्ष सञ्चालन गरेका हौँ’ उहाँले भन्नुभयो ‘यो महामारीको समयमा स्वास्थ्य सुरक्षा सर्तकतालाई पहिलो प्राथाकितामा राखेका छौँ ।’
उहाँले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, सिट क्षमताको आधा मात्रै यात्रु राख्नुपर्ने, तोकिएको भन्दा बढी भाडा लिन नपाइने नियम बनाइएको बताउनुभयो । ‘चाडपर्व मनाउनको लागी अन्र्तजिल्ला तथा भारत सहित अन्य मुलुकबाट नागरिक भित्रिने भएकाले उनीहरु ठगिने अवस्था आउन नदिन, सवारी चालक सहचालक बाट अभद्र व्यवहार नहोस भनेर सहायता कक्ष सञ्चालन गरेका छौँ’ उहाँले भन्नुभयो ।
उहाँले यात्राको क्रममा त्यस्तो खालका कुनै समस्या आएमा यात्रु सहायता कक्ष वा प्रहरी बिटमा खवर गर्न पनि आग्रह गर्नुभएको छ । ‘यदी भाडा बढी लिएको वा यात्राको क्रममा अभद्र व्यवहार गरेको वा मापसे गरेर सवारी चलाएको पाइएमा हामीलाई खबर गर्नुहोस, हामी तत्काल कारवारी गर्छौ’ उहाँले भन्नुभयो ।
यस्तै प्रहरीको एक सय नम्बर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने ट्राफिक प्रहरी इन्चार्ज बिकको भनाई छ । दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर कपुरकोट र थारमारेमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।