सल्यानको प्रसिद्ध खैराबाङ भगवती मन्दिर बडादशैँमा पनि नखुल्ने

सल्यान २४, असोज ।
सल्यानको धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित खैराबाङ भगवतीको मन्दिर यस बर्षको बडादशैँमा नखुल्ने भएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागी सरकारले लकडाउन गरेदेखी बन्द भएको खैराबाङ भगवती मन्दिर यस बर्षको बडादशैँमा पनि नखुल्ने भएको हो ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ११ मा अबस्थित खैराबाङ भगवती मन्दिर सँगै जिल्लाभरका सम्पूर्ण शक्तिपिठहरु बन्द रहने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण सर्वसाधारणको भिडभाड हुन सक्ने भएकाले खैराबाङ भगवती मन्दिर सँगै जिल्लाका सबै शक्तिपिठहरु बन्द रहने जानकारी दिनुभयो ।

‘बडादशैँ लगाएतका चाडपर्व आइरहेको सन्दर्भमा हुनेसक्ने भिडभाडलाई नियन्त्रण गर्न जिल्लामा रहेका शक्तिपिठहरुमा पुजारीबाट हुने नित्यकर्म बाहेक सर्वसाधारणबाट हुने बली, पुजा लगाएतका अन्य गतिबिधि गर्न निषेध गरेका छौँ’ उहाँले भन्नुभयो । उहाँले मठमन्दिरमा दुरी कायम गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पालना गर्न सक्ने अबस्था नभएकाले शक्तिपिठहरु बन्द रहने जानकारी दिनुभयो ।

हिन्दु नेपालीको आस्थाको धरोहर रहेको खैराबाङ भगवती मन्दिरमा हरेक बर्ष बडादशैँ र चतैँदशैँमा बिशेष मेला सहितको पुजाआजा हुदैँ आएको थियो । तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण चैते दशैँमा बन्द रहेको खैराबाङ भगवती मन्दिर बडादशैँमा पनि बन्द रहने खैराबाङ भुवनेश्वरी मन्दिर धार्मिक क्षेत्र विकास समितीका अध्यक्ष छबि कुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसारमा खैराबाङ भगवती मन्दिरमा बर्षेनी करिब डेढ लाख भक्तजनले दर्शन गर्छन् । आर्थिक बर्ष २०७५/०७६ मा खैराबाङ भगवती मन्दिरमा २९ लाख रुपैँया आम्दानी भएको थियो । जसबाट मन्दिर संरक्षण, व्यवस्थापन तथा प्रचारप्रसारमा खर्च हुदैँ आएको थियो । कोरोनाका कारण अहिले मन्दिर सुनसान रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

धार्मिक शास्त्र अनुसार खैराबाङ भगवती मन्दिर नेपालमा रहेका ५१ पीठ मध्येको एक पवित्र मन्दिरका रुपमा चिनिन्छ । वि.सं. १४८० देखि मन्दिरमा पूजाआजा शुरु गरेको किम्बदन्तीमा उल्लेख छ । विशेषगरी बडादशैँ तथा चैते दशैंमा पञ्चबलिका रुपमा राँगा, बोका, साँडा, परेवा र हाँसको बलि दिई भव्य रुपमा पुजा आराधना गर्ने प्रचलन रहेको छ ।

साथै घटस्थापनाका दिनदेखी कोजाग्रत पूर्णिमाका दिनसम्म यहाँ निरन्तर रुपमा दर्शनार्थीहरुको भिड लाग्छ । मन्दिर दर्शन गर्न सल्यान सँगै दाङ, रूकुम, रोल्पा, प्युठान, बाँके, वर्दिया, सुर्खेत, कैलाली, दैलेख र जाजरकोट लगायत भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस