सल्यान २५, असोज ।
सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ को सागिनेमा पहिलोपटक वस पुगेको छ । कर्णाली प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा करिव डेढ करोड लागतमा सडक निर्माण भएपछि त्यहाँ पहिलो पटक बस पुगेको हो । यसैबिच सागिनेमा बस सञ्चालनको उद्घाटन गर्दै सिद्ध कुमाख गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले यातायातको पहुँच बाहिर रहेको सागिनेमा बस सञ्चालन भएपछि खुसी ब्यक्त गर्नुभएको छ ।
आज देखी श्रीनगरसागिने र सागिनेसल्लिवजार बस नियमित रुपमा सञ्चालन भएको छ । गाउँपालिका अध्यक्ष चलाउनेले आफ्नै पालामा सडक सञ्जालले नजोडिएका दुर्गम गाउँ वस्तीहरुमा सडक पुगेको बताउनुभएको छ । अब यहाँका नागरिकलाई प्रदेश राजधानी जान र गाउँपालिकामा सेवा लिन जान सजिलो हुने भएको छ । गाउँमै वस पुगेपछि स्थानीय खुसी भएका छन् ।
स्थानीय सरकारको पहल कदमीमा राम्रो काम भएको बताउदैँ स्थानियले बाह्रै महिना गाडी सञ्चालन हुनेगरी सडकको मर्मतसम्भारमा गाउपालिकाले ध्यानदिनुपर्ने बताएका छन् । वडाअध्यक्ष विरवहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लोकवहादुर विकले गर्नुभएको थियो ।