प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराबाट ६८ जनाले लिए प्रसुती सेवा

सल्यान २७, असोज ।
सल्यानको लेखपोखरामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रबाट प्रसुती सेवा लिनेको संख्या बढ्दै गएको छ । गत आर्थिक बर्ष २०७६÷०७७ मा ६८ जना महिलाले सुरक्षित प्रसुती सेवा लिएका छन् । कुनै समय घरमा नै प्रसुती हुनेको संख्या धेरै भएपनि पछिल्लो समय भने स्वास्थ्य केन्द्रमा नै आएर प्रसुती सेवा लिनेहरुको संख्या बढ्दै गएको हो ।

घरमा नै प्रसुती हुदाँ जोखिम हुनसक्ने भन्दै स्वास्थ्य केन्द्रमा आएर प्रसुती सेवा लिने महिलाको संख्या बढेको स्वास्थ्य केन्द्रका इन्चार्ज वीर बहादुर वलीले जानकारी दिनुभयो । बितेको आर्थिक बर्षमा ८६ जनाको लक्ष्य लिएकोमा ६८ जनाले स्वास्थ्य केन्द्रमा नै आएर प्रसुती सेवा लिएको उहाँको भनाई छ ।

उहाँका अनुसार एक बर्षको अबधिमा प्रोट्रोकल अनुसार ४ पटक गर्भ जाँच गर्ने २० बर्ष उमेर मुनिका महिलाहरुको संख्या १० जना रहेको छ । यस्तै प्रोट्रोकल अनुसार गर्भवती जाँच गराउने २० बर्ष उमेर माथीका महिलाको संख्या ४६ जना रहेको छ । यस्तै प्रसुती भएपश्चात प्रोट्रोकल अनुसार तीन पटक जाँच गर्नेको संख्या ४१ जना रहेको छ ।

इन्चार्ज वलीले स्वास्थ्य केन्द्रको सेवा क्षेत्र भित्र घरमा नै प्रसुती हुनेको संख्या शून्य रहेको बताउनुभयो । ‘हामीसँग भएको तथ्यांकलाई हेर्दा गर्भवती जाँच गर्नेको संख्या धेरै छ, तर लक्ष्य अनुसार प्रसुती हुनेको संख्या कम छ, यसको कारण घरमा नै प्रसुती हुने गरेको नभइ जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा गएर प्रसुती सेवा लिएको पाइएको छ’ उहाँले भन्नुभयो ।

अहिले सबै नागरिकमा सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास भएको उहाँको भनाई छ । ‘घरमा सुत्ेकरी हुदाँ आमा र बच्चा जोखिममा हुने भएकाले सबै स्वास्थ्य संस्थामा नै आउनुहुन्छ’ उहाँले भन्नुभयो । उहाँले स्वास्थ्य संस्थामा नै आएर प्रसुती सेवा लिदाँ सरकारले पनि बिभिन्न सेवा सुविधाहरु उपलब्ध गराएको बताउनुभयो ।

जसअन्र्तगत यातायात खर्च रु. २ हजार, उत्प्रेरणा खर्च रु. ८ सय, प्रदेश सरकारको पोषण कोसेली वाफत रु. २ हजार र स्वास्थ्य केन्द्रले न्यानो झोला, सावुन, नुन उपलब्ध गराउदैँ आएको छ । यसका लागी प्रोट्रोकल अनुसारको जाँच गरेको हुनुपर्ने उहाँको भनाई छ । साथै प्रसुती सेवा लिन आउनेका लागी एम्बुलेन्स भाडामा २५ प्रतिशत छुट गरिएको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस