सल्यान १, कात्तिक ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को भातृसंगठन नेपाल राष्ट्रिय युवा संघ सल्यानको छत्रेश्वरी गाउँपालिका १ दमाचौरले प्रत्येक महिनाको एक दिन श्रमदिन मनाउने भएको छ । युवा संघ राजनितिमा मात्रै नभएर सामाजिक बिकास निर्माणका काममा समेत सक्रिय हुन्छ भन्ने सन्देश प्रवाह गर्नका लागी पनि हरेक महिनाको एक दिन श्रमदिन मनाउने भएको हो । जसअन्र्तगत वडाका प्रत्येक टोलहरुमा बाटोघाटो, पानीका मुहान, सरसफाई लगाएतका कामहरु गर्ने युवा संघ नेपाल छत्रेश्वरी १ दमाचौरका संयोजक दिपक मल्लले जानकारी दिनुभयो ।
विगतमा पनि सामाजिक कार्य गर्दै आएको बताउदैँ उहाँले अब भने औपचारिक रुपमा हरेक महिनाको एक दिन श्रमदिन मनाउने निर्णय भएको जानकारी दिनुभयो । यसले बिकास निर्माणका साना साना कार्यमा पनि सरकारको मुख ताकेर बस्नु पर्दैन भन्ने सन्देश प्रवाह हुने उहाँको भनाई छ । आफ्नो गाँउ आफै बनाउने भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थानिय युवाहरुलाई एकिकृत गरेर सामाजिक कार्य गर्दै आएको उहाँको भनाई छ ।
सोही क्रममा आज मोख्ला दमौचार सडक खण्ड अन्र्तग बागचौर नगरपालिका १० पिपलनेटा, भाटभिटे देखी दमाचौर सम्मको सडकको मर्मत गरिएको छ । चाडपर्वको समयमा हुने आवतजावतलाई सहज वनाउने उद्धेश्यका साथ सडकमा भएको पहिरा हटाउने, खाल्डाखुल्डी पुर्ने लगाएतका कामहरु गरिएको नेकपा छत्रेश्वरी गाउ कमिटी सदस्य सुरेन्द्र चन्दले जानकारी दिनुभयो ।
सो अबशरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाका स्वकीय सचिव तथा गाउ कमिटी सदस्य खडक शाही, गाउ कमिटी सदस्य रेशम कुमार अधिकारी, नेकपा वडा कमिटी सचिव लेख बहादुर चन्द सहित झण्डै ५० जना युवाहरुको सहभागिता रहेको थियो ।