सल्यान २, कात्तिक ।
जिल्ला प्रहरी कार्यालय सल्यानले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना लागु गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिदैँ गएको अबस्थामा यसको संक्रमण रोकथाम सहित चाडपर्वलाई भब्य र सभ्य बनाउनको लागी बिशेष सुरक्षा योजना लागु गरेको जनाएको छ ।
जसअनुसार जिल्लाभर करिब साढेँ तीन सय प्रहरी परिचालन भएको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले जानकारी दिनुभयो । उहाँले वडा दशैं, तिहार तथा छठपर्वको समयमा हुन सक्ने अपराधिक कार्यलाई रोक्न उक्त सुरक्षा योजना लागु गरेको जानकारी दिनुभयो । जिल्लाको सदरमुकाम खलंगा सँगै श्रीनगर, थारमारे, सल्लीवजार, कपुरकोट लगाएत नागरिकको भिडभाड हुने बजारहरुलाई बिशेष निगरानी राखिएको छ ।
यस्तै सवारी चेकजाँचमा कडाई, २४ सौँ घण्टा मोवाइल गस्ती, पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन गरिएको उहाँको भनाई छ । यस्तै कोरोनाको संक्रमण बढ्दै गएकाले मठमन्दिर, धार्मिक स्थल, सार्वजनिक स्थल, वजार क्षेत्रमा हुने भिडभाडलाई नियन्त्रण गर्ने गरी काम भैरहेको उहाँले जानकारी दिनुभयो । यस्तै वजार क्षेत्रहरुमा कडाइका साथै दिउँसो तथा रातको समयमा हुन सक्ने चोरी, डकैती, लुटपाटलाई लक्षित गरि अभियान सञ्चालन गरिएको छ ।
सल्यान प्रहरी प्रमुख थापाले चाडपर्वको सयमा घरमा चोरी डकैती हुनसक्ने भन्दै सतर्क हुन आम नागरिकलाई आग्रह गर्नुभएको छ । घर बाहिर निस्कदा झ्याँल ढाका राम्रोसँग लगाउन, जथाभावी मादक पदार्थ नबेच्न र सेवन नगर्न, जुवातास नखेल्न र कोरोनाको जोखिम कायमै रहेकोले घरमै बसेर मनाउन प्रहरीले आग्रह गरेको छ ।