सल्यानको बागचौर नगरपालिकाद्वारा बजार अनुगमन

सल्यान ६, कात्तिक ।
सल्यानको बागचौर नगरपालिकाले नगर भित्रका बजारहरुमा बजार अनुगमनलाई तीब्र बनाएको छ । दशै तिहार लगाएका चाडपर्व नजिकिएको र कोरोना भाइरसको कारण उपभोक्ता मारमा परेको गुनासो बढेकाले र म्याद सकिएका दैनिक उपभोग्य सामान ब्यापारीहरुले बिक्री गरिरहेको गुनासो आएपछि बागचौर नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको हो ।

बागचौर नगरपालिका उपप्रमुख कल्पना पुनको नेतृत्वमा र बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतको संयोजकत्वमा खटिएको टोलिले बागचौर नगरपालिका अन्तर्गत पर्ने कालखेत बजार, थारमारे बजार, बागचौर बजार र बाङ्गेलाखुरी बजारमा मंगलवार र बुधबार बजार अनुगमन गरेको हो ।


बजार अनुगमन तथा निरीक्षणको क्रममा बागचौर नगरपालिकाले ब्यबसाय दर्ता नविकरण गरे नगरेको, अखाद्य तथा म्याद नाघेका खाद्यबस्तु , पसलमा बिक्री गरीने बस्तुको मुल्य सुचि राखे नराखेको विषयमा अनुगमन गरेको हो । नगर भित्रका विभिन्न पसलहरुबाट म्याद सकिएका अखाद्य बस्तुहरुलाई बरामद गरि वडा.न २ बागचौरमा रहेको डम्पिङ साइडमा नगरपालिकाले नष्ट गरेको हो । विभिन्न बजारहरुमा अनुगमनका क्रममा ३५ हजार ५ सय ६५ रुपैया बराबरको म्याद नाघेका अखाद्यबस्तु नगरपालिकाले नष्ट गरेको हो ।

साहुले सामान पठाने बेला म्याद सकिदै गरेका सामान पठाउने तर हामी ब्यापारीहरुले सामान किन्ने बेला बनेको मिति र सामानको म्याद सकिने मिति नहेर्नेभएकाले पनि येस्तो समस्या आएको केही ब्यापारीहरुको भनाइ छ । बजार अनुगमनमा बागचौर नगरपालिका उपप्रमुख कल्पना पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिवहादुर कठायत, ईलाका प्रशासन कार्यालय बागचौरका प्रमुख हुमलाल न्यौपाने, बागचौर नगरपालिकाका योजना शाखा प्रमुख पुर्ण बहादुर वली, ईलाका प्रहरी कार्यालय थारमारे प्रमुख लिलाराम चन्द, बागचौर नगरपालिकामा कर्यारत विभिन्न शाखाका कर्मचारीहरु  पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस