सल्यान ६, कात्तिक ।
सल्यानका छ स्थानिय तहका जनप्रतिनिधिले चाडपर्व खर्च वाफत साढेँ ३४ लाख रुपैँया लिएको पाइएको छ । जिल्लाका दश स्थानिय तह मध्ये छ वटा स्थानिय तहका जनप्रतिनिधिले दशैँ अगाडि नै चाडपर्व खर्च वाफत रु. ३४ लाख ५० हजार रुपैँया लिएका हुन् । जसमध्ये रकम अभाव लगाएतका कारणले जिल्लाका अन्य ४ स्थानिय तहका जनप्रतिनिधिहरुले चाडपर्व खर्च पाएका छैनन् ।
जिल्लाका बन्गाड कुपिण्डे नगरपालिका, कालीमाटी गाँउपालिका, कपुरकोट गाँउपालिका, सिद्ध कुमाख गाउँपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाका जनप्रतिनिधिहरुले चाडपर्व खर्च वाफत रु. १५ हजारका दरले रकम लिएका हुन् । गत असार ५ गते कर्णाली प्रदेशमा पारित भएको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी ऐन’ मा स्थानीय तहका वडा सदस्यदेखि प्रमुखसम्मलाई चाडपर्व खर्चबापत १५ हजार रुपैयाँ दिइने उल्लेख छ ।
सोही अनुसार बन्गाड कुपिण्डे नगरपालिकाका ६२ जना जनप्रतिनिधिले ९ लाख ३० हजार रुपैँया चाडपर्व खर्च वाफत लिएका छन् । यस्तै कुमाख गाउँपालिकाका ३९ जना जनप्रतिनिधिले ५ लाख ८५ हजार, कालीमाटी गाउँपालिकाका ३७ जना जनप्रतिनिधिले ५ लाख ५५ हजार, कपुरकोट गाउँपालिकाका ३३ जना जनप्रतिनिधिले ४ लाख ९५ हजार, दार्मा गाउँपालिकाका ३२ जना जनप्रतिनिधिले ४ लाख ८० हजार र सिद्ध कुमाख गाउँपालिकाका २७ जना जनप्रतिनिधिले ४ लाख ५ हजार रुपैँया चाडपर्व खर्च वाफत लिएका हुन् ।
कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले कर्णाली प्रदेश सरकारले वनाएको कार्यबिधि अनुसार नै चाडपर्व वाफतको खर्च लिएको बताउनुभएको छ । ‘यदी कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिहरुले चाडपर्व खर्च नलिने निर्णय गरेको भए, हामीले चाडपर्व खर्च लिने थिएनौँ’ उहाँले भन्नुभयो ‘प्रदेश सरकारले तयार पारेको कार्यविधि अनुसार कालीमाटी गाउँपालिकामा रहेका सबै जनप्रतिनिधिहरुले बर्षमा एक पटक पाउने सुविधा चाडपर्व वाफतको खर्च लिएका हौँ ।’
अहिले चाडपर्व खर्च नलिएका जिल्लाका ४ स्थानिय तहका जनप्रतिनिधिहरुले पनि आबश्यक वजेट नहुदाँ चाडपर्व वाफतको खर्च नलिएको पाईएको छ । हाल शारदा नगरपालिका, बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिबेणी गाउँपालिकाका जनप्रतिनिधिले भने चाडपर्व खर्च लिएका छैनन् ।
बागचौर नगरपालिकाका लेखा प्रमुख बसन्त लामिछानेले राजस्व बाँडफाँटको रकम कम भएकाले जनप्रतिनिधिहरुले चाडपर्व खर्च नलिएको जानकारी दिनुभयो । ‘जनप्रतिनिधिहरुले पाउने सुबिधामा बार्षिक एक पटक चाडपर्व वाफत १५ हजार रुपैँया लिने कार्यबिधिमा उल्लेख गरिएको छ’ उहाँले भन्नुभयो ‘रकम अभावका कारण अहिले जनप्रतिनिधिहरुले लिनुभएको छैन्, यो सेवासुविधा अन्र्तगत पर्दछ, उहाँहरुले लिनुहुन्छ ।’
छत्रेश्वरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशरी देवी भट्टराईले गाउँसभाले वजेट पास नगरेका कारण समस्या भएको जानकारी दिनुभयो । उहाँले चालुआर्थिक बर्षमा वजेट पारित नभएकाले कर्मचारीको तलव देखी जनप्रतिनिधिको सेवासुबिधा वाफतको रकम समेत रोखिएको जानकारी दिनुभयो । जसका कारण गाँउपालिकामा रहेका कर्मचारीहरु बेतलवी दशैँ मनाउन बाध्य भएका छन् ।