सल्यान ९, कात्तिक ।
दशैँ पर्व नजिकिँदै गर्दा सल्यानको सदरमुकाम खलंगा सहितका मुख्य बजार सुनसान बन्न थालेका छन् । कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्ता लगायत दशैँ मनाउन गाउँ हिंडेपछि सदरमुकाम खलंगा सुनसान भएको हो ।
अहिले खलंगा सहित शहरी क्षेत्रका अधिकांश रैथाने बासिन्दा पनि दशैँ मनाउन गाउँमा झरेका छन । विभिन्न कामकाजका सिलसिलामा सदरमुकाम बस्दै आएका सबै जना गाउँ फर्केपछि खलंगा सुनसान भएको छ ।
अहिले खलंगाका केहि पसल मात्रै खुलेका छन भने गाउँ फर्कनेको लर्को लागेको छ । सरकारी कार्यालयका कर्मचारी दशैँ बिदामा हिंडिसकेका छन । खलंगाका पसल तथा होटल अधिकांश बन्द छन । चहलपहल हुने खलंगा, श्रीनगर, थारमारे, सल्लिबजार, कपुरकोट लगाएतका बजार सुनसान जस्तै छन् । गाउँमा भने दशैं नजिकिए सँगै चहलपहल बढेको छ ।
देशका विभिन्न शहर र देश बाहिर बसेका अधिकांश दशैँ मनाउन गाउँ फर्केकाले चहलपहल बढेको हो । रोजगारीका लागि विदेश गएका, अध्ययन गर्न सहरमा पसेका र व्यापार तथा जागिर गर्न गएका दशैँ मनाउन घर फर्केका हुन्।
दशैँ तथा तिहारको पूर्व तयारीका लागि ग्रामीण क्षेत्रमा घर पोत्ने, रङ्गीचङ्गी बनाउने, बाटोघाटो सरसफाइ, सेलरोटी पकाउने लगायत काम भइरहेका छन ।