सल्यान १३, कात्तिक ।
भारत सहित देशका बिभिन्न ठाँउबाट फर्किएका नागरिकहरु कोरोना परिक्षण बिना नै गाँउ जानथाले पछि सल्यानका स्थानिय त्रसित बनेका छन् । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अबस्थामा कोरोनाको उच्च जोखिम मानिएका ठाँउहरु भारत सहित देशका बिभिन्न ठाँउबाट फर्किएका नागरिकहरु क्वारेन्टाइनमा नबसेर पिसिआर बिना नै गाँउमा जान थालेपछि स्थानिय त्रसित बनेका हुन् ।
जिल्लाका सबै पालिकामा कोरोनाका लक्षण नभएका नागरिकहरु पिसिआर विना नै गाँउ जानथालेपछि कोरोनाको संक्रमण समुदाय स्तरमा नै फैलिन सक्ने भन्दै स्थानिय त्रसित बनेका हुन् । अझ् चाडपर्व मनाउन गाँउ फर्किनेको संख्या ह्वात्तै बढेको छ । तर गाँउघरमा फर्किएर होम क्वारेन्टाइनमा नबसेर समुदायस्तरमा नै घुमफिर गर्दा कोरोना संक्रमणको जोखिम बढेको स्थानियको भनाई छ ।
अहिले जिल्लामा निर्माण भएका प्रायः सबै क्वारेन्टाइन खाली रहेका छन् भने बाहिरबाट आउने नागरिक सिँधै घरमा जाने गरेका छन् । कोरोनाको लक्षण देखिएमा मात्रै पिसिआर परिक्षण गर्नुपर्ने नेपाल सरकारको निति अनुसार बाहिरबाट आएका सबै नागरिकलाई सिधैँ घर पठाउने गरिएको बन्गाड कुपिण्डे नगरपालिकाको स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलले जानकारी दिनुभयो ।
अहिले जिल्लामा भित्रिएका नागरिकहरु मध्ये लक्षण नभएका सबैलाइ घर पठाउने गरिएको छ । तर बाहिरबाट फर्किएका सबैलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनिएको छ । लक्षण नभएका नागरिकहरुको कोरोना परिक्षण नगर्ने सरकारको निति तथा प्रावधान अनुसार उनीहरुको कोरोना परिक्षण नगरेर सिधैँ सेल्फ क्वारेन्टाइनमा बस्न भनेर घर पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।
तर जोखिमयुक्त क्षेत्रबाट आएका उनीहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिएको उहाँको भनाई छ । उहाँले बाहिरबाट फर्किएर होम क्वारेन्टाइनमा बसे नबसेको स्थानिय तहले निगरानी गर्ने र होम क्वारेन्टाइनमा नबसेर समुदायमा घुमफिर गरेको पाइएमा क्वारेन्टाइनमा राखेर आबश्यक कारवाही गर्ने बताउनुभयो ।
साथै कोरोना भाइरसको जोखिम कायमै रहेकाले आबश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न समेत प्रमुख जिल्ला अधिकारी तामाङले सुझाव दिनुभएको छ ।