सल्यान १४, कात्तिक ।
सल्यान जिल्ला धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो । यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदीले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ रहेको कुमाख सल्यानीको पहिचान संग जोडिएको छ । समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाखबाट नेपालका १५ वटा जिल्ला देख्न सकिन्छ ।
जिल्लाको सिद्धकुमाख र कुमाख गाउपालिकाको बिचमा रहेको कुमाखबाट पुर्वका धौलागिरी, सिस्ने, पुथालगायत हिमाली क्षेत्रका अधिकांश हिमाल हेर्न सकिन्छ । कुमाखमा हरेक बर्ष कोजाग्रत पुर्णीमाको अवसरमा मेला लाग्ने गर्दछ । यस कुमाख पहाडका विभिन्न स्थानमा दर्जनौ आकर्षक गुफा रहेको र जुन पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीयले बताएका छन् ।
तर कोरोना भाइरसको उच्च जोखिमका कारण यस बर्ष कोजाग्रत पूर्णिमाको दिनमा जिल्लाका बिभिन्न ठाँउमा लाग्ने सबै मेलाहरु स्थगित भएका छन् । कुमाख मेला, ढकढके मेला, पाथिभरा मेला, पोखरा मेला लगाएतका जिल्लाका बिभिन्न ठाँउहरुमा लाग्ने सबै मेलाहरु स्थगित भएका हुन् । जिल्लाकै ठुलो मेलाका रुपमा चिनिएको कुमाख मेलामा स्थानिय लोक संस्कृति झल्कने सोरठी, पैसेरी, बन्गाडि टप्पा, झाप्रे, सरिंगे जस्ताहरु नाचहरुले यहाँको पहिचान संस्कृति झल्काउने काम गर्दछ ।
धेरै भिडभाड र मेला पर्वहरुमा हुने जमघटमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले केही समय अघि नै जिल्ला प्रशासन कार्यालय सल्यानले मन्दिर दर्शन र मेला पर्व लगाउनमा रोक लगाइसकेको छ । जसको कारण जिल्लाको विभिन्न ठाउँमा लाग्ने दर्जन बढी मेलाहरु यस वर्ष प्रभावित बनेका छन् ।