सल्यानका ७५ प्रतिशत घरधुरी बिद्युत्तको पहुँच बाहिर

झण्डै ६ प्रतिशत बिद्युत्त चुहावट घट्यो

सल्यान १६, कात्तिक ।
सल्यानका झण्डै ७५ प्रतिशत घरधुरी बिद्युत्तको पहुँच बाहिर रहेका छन् । जिल्लालाई नै पूर्णरुपमा बिद्युत्तिकरण गर्ने लक्ष्य सहित काम अगाडी बढाए पनि जिल्लामा भने हाल सम्म ७५ प्रतिशत घरधुरी अझै बिद्युत्तको पहुँच बाहिर रहेको नेपाल बिद्युत्त प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ ।

जिल्लाभर हाल करिब ५१ हजार घरधुरी संख्या रहेको छ । ती मध्ये करिब १३ हजार घरधुरीमा मात्रै बिद्युक्तिकरण गरिएको सल्यान वितरण केन्द्र प्रमुख अर्जुन पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय जिल्लामा बिद्युक्तिकरणका लागी धमाधम रुपमा काम भैरहेको छ भने जिल्लाभर बिद्युक्तिकरणका लागी करिब ५० प्रतिशत संरचना निर्माण गरिएको छ ।

केन्द्रका अनुसार जिल्लाका दश स्थानिय तह मध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा बिद्युक्तिकरण गरिएको छ भने सबै भन्दा कम कालीमाटी गाउपालिकाका बिद्युक्तिकरण गरिएको छ । शारदा नगरपालिकामा करिब ८० प्रतिशत घरधुरीमा बिद्यक्तिकरण गरिएको प्रमुख पोख्रेलको भनाई छ । यस्तै कालीमाटी गाउपालिकामा १० प्रतिशत बिद्युक्तिकरण गरिएको छ ।

यस्तै छत्रेश्वरी गाउपालिकामा ७० प्रतिशत, कपुरकोट र त्रिबेणी गाउपालिकामा ६०/६० प्रतिशत, सिद्ध कुमाख, कुमाख र दार्मा गाउपालिकामा २५/२५ प्रतिशत बिद्युक्तिकरण गरिएको छ । यस्तै बागचौर र बन्गाड कुपिण्डे नगरपालिकामा करिब ३५ प्रतिशत बिद्युक्तिकरण गरिएको छ ।

‘जिल्लामा बिद्युक्तिकरणका लागी अहिले धमाधम रपमा संरचना निर्माण भैरहेका छन्, केन्द्र, प्रदेश र स्थानिय तहहरुले पनि बिद्युत्तको लागी धेरै वजेट विनियोजन गरेका छन्, यही स्केलमा वजेट विनियोजन भएमा अबको ३ देखी ४ बर्षको बीचमा पूरै जिल्ला बिद्युत्तिकरण हुन्छ’ प्रमुख पोख्रेलले भन्नुभयो । उहाँले ५० देखी ६० करोड रुपैँया बराबरको काम गर्न सकियो भने जिल्लाभर बिद्युत्त पुग्ने बतानुभयो ।

झण्डै ६ प्रतिशत बिद्युत्त चुहावट घट्यो
नेपाल बिद्युत्त प्राधिकरण सल्यान शाखाले जिल्लामा बिद्युत्त चुहावट झण्डै ६ प्रतिशतले घटेको जनाएको छ । अघिल्लो आर्थिक बर्षमा जिल्लामा १८ प्रतिशत बिद्युत्त चुहावट रहेकोमा आर्थिक बर्ष २०७६÷०७७ मा घटेर १२ दशमलव ७ प्रतिशतमा झरेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा केन्द्रले ४ करोड ३३ लाख रुपैँया राजस्व संकलन गरेको छ । यस्तै ५३ लाख रुपैँया पुरानो बख्यौता रकम असुल गरिएको छ । यस्तै कालोसुचीमा परेका ग्राहकहरुबाट २ लाख १९ हजार रुपैँया बिद्युत्त बख्यौता उठाउन बाँकी रहेको छ ।

यस्तै एक बर्षको अबधिमा १ सय ८३ किमी लाईन जिल्लाभर बिस्तार गरिएको छ । यस्तै यस अबधिमा २५ वटा ट्रान्सफर्मर जडान गरिएको नेपाल बिद्युत्त प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस