सल्यान १७, कात्तिक ।
केही वर्षअघिसम्म गाउँघरमा हुने मेला तथा चाडपर्वमा जताततै देखिने चर्खेपिङ आजभोलि देखिन छाडेको छ । मनोरञ्जनका आधुनिक सामग्रीले मेला तथा चाडपर्व भरिएपछि चर्खेपिङको महत्व घट्दै गएको हो । चाडपर्व र मेला मनाउने चलन फेरिएसँगै चर्खेपिङको पनि महत्त्व घट्दै गएको सल्यानका स्थानियको भनाई रहेको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानले धेरै भिडभाड र मेला पर्वहरुमा हुने जमघटमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले मन्दिर दर्शन र मेला पर्व लगाउनमा रोक लगाएको छ । यसले गर्दा मेलापर्वहरु सबै स्थगित भएका छन् भने मेलामा देखिने चर्खेपिङको महत्व घट्दै गएको छ । जिल्लामा विगतमा तीजदेखि दशैंसम्म चर्खेपिङ बनाएर खेल्ने चलन रहेको थियो ।
कुमाख मेला, गरिपारे मेला, मोखला मेला लगाएतका मेला पर्वमा चर्खेपिङ खेल्नेको भीड नै लाग्ने गथ्र्यो । तर पछिल्लो समय भने यस्ता मेला तथा चाडपर्वमा चर्खेपिङ देख्न मुस्किल छ र चर्खेपिङ बनाउने मानिसको समेत अभाव हुन थालेको छ । युवापुस्तामा चर्खेपिङप्रति रुचि घट्दै जाँदा लोप हुन थालेको स्थानियको बुझाई छ ।
बिगतको भन्दा अहिले चर्खेपिङ प्रतिको मान्छेको आक्रर्षण घट्दै गएको जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटाका तिलक लामिछानेले बताउनुभयो । ‘पहिले गाउँमा लाग्ने मेला तथा पर्वमा सबैको पहिलो रोजाइ चर्खेपिङ खेल्ने हुन्थ्यो । तर आजभोलि मुस्किलले फाट्टफुट्ट मात्र देख्न पाइन्छ,’ उहाँले भन्नुभयो ‘मेला तथा चाडपर्वमा चर्खेपिङ चढ्न गाउँगाउँमा मानिसको भीड लाग्ने गथ्र्यो, केही वर्ष यता भने मुस्किलले २/३ वटा देख्न पाइन्छ ।’
वडादशैंको टीकाको दिन धर्ती छाड्दा पवित्र भइने मान्यता अनुसार पिङ हाल्ने प्रचलन थियो र पिङमा बालबालिकादेखि वृद्धवृद्धासम्मको भीड लाग्ने गथ्र्यो । अहिले पिङ बनाउने मान्छे र काठको अभावले पिङ बनाउन तर्फ कसैले ध्यान नगएको स्थानियको भनाइ छ ।