सल्यान १८, कात्तिक ।
सल्यानका आठ वटा स्थानिय तहले ११ वटा एम्बुलेन्स खरिद गरेका छन् । स्थानिय तहमा जनप्रतिनिधि आएको झण्डै तीन बर्षको अबधिमा जिल्लाका एक नगरपालिका र सात वटा गाउपालिकाले गरेर ११ वटा एम्बुलेन्स खरिद गरेका हुन् । जिल्लामा रहेका दश स्थानिय तह मध्ये अहिले बन्गाड कुपिण्डे नगरपालिकाले एम्बुलेन्स खरिदको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ भने शारदा नगरपालिकाले खरिद गर्ने सोच वनाएको छ ।
आफ्नो लागी गाडी र मोटरसाइकल खरिद गरेका स्थानिय तहका जनप्रतिनिधिहरुले झण्डै तीन बर्षको अबधिमा ११ वटा एम्बुलेन्स खरिद गरेका हुन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सबै भन्दा धेरै ४ वटा एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले गाउँपालिकाले ४ वटा एम्बुलेन्स खरिद गरेर वडा नम्बर २, ४, ५ र ६ लाई सञ्चालनको जिम्मेवारी दिएको जानकारी दिनुभयो ।
एम्बुलेन्स नहुदाँ नागरिकहरुलाई उपचारको लागी स्वास्थ्य संस्थाहरु सम्म जान समस्या भएकाले उनीहरुको सहजताको लागी एम्बुलेन्स खरिद गरिएको उहाँको भनाई छ । गाउँपालिले खरिद गरेका एम्बुलेन्सहरु मध्ये वडा नम्बर २ मा बाहेक अरु सबै वडाहरुमा एम्बुलेन्स सञ्चालन भैरहेका छन् । यस्तै जिल्लाको बागचौर नगरपालिकाले पनि एउटा एम्बुलेन्स खरिद गरेको छ ।
यस्तै कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका, कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिकाले एक/एक वटा एम्बुलेन्स खरिद गरेका छन् । अहिले एक वटा एम्बुलेन्स भएको त्रिबेणी गाउँपालिकाले थप एक वटा एम्बुलेन्स खरिद गर्ने तयारी गरेको छ । सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले गाउँपालिकाले एक वटा एम्बुलेन्स खरिद गरेको र यसले नागरिकलाई सेवा प्रदान गर्न सहजता थपेको बताउनुभयो ।
उहाँले स्वास्थ्य शाखा मार्फत एम्बुलेन्स सञ्चालन भैरहेको जानकारी दिनुभयो । जसअन्र्तगत एम्बुलेन्स भाडामा सुत्केरीलाई २५ प्रतिशत, बृद्धबृद्धाहरुलाई १० प्रतिशत र आर्थिक अबस्था कमजोर भएका तथा तत्काल अस्पताल पु¥याउनु पर्ने बिरामीहरुलाई निःशुल्क रुपमा सेवा प्रवाह गरिरहेको उहाँको भनाई छ । यसले गर्दा स्वास्थ्य संस्था सम्म आउने बिरामीहरुको संख्या पनि बढेको र बिरामीहरुलाई छिटो, छरितो र स्तरीय सेवा प्रवाहमा सहजता थपेको गाउँपालिकाले जनाएको छ ।
यस्तै अहिले सम्म एम्बुलेन्स विहिन शारदा नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने तयारी गरेको जनाएको छ । यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले नगरपालिका एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको बताउनुभयो । उहाँले एम्बुलेन्स खरिदको लागी रकम भुक्तानी गरिसकेको बताउदैँ अबको केही दिनमा नगरपालिकाका एक वटा एम्बुलेन्स आउने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अहिले जिल्लाभर १७ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । कार्यालयका सुचना अधिकारी थलराज डिसीले सरकारी, निजि क्लिनिक र सहकारीको गरेर जिल्लाभर १७ वटा एम्बुलेन्स सञ्चालनमा रहेको जानकारी दिनुभयो ।