कोरोनाको कहरमा पनि सल्यानको बन्गाडमा १६ वटा बिद्यालयका भवन निर्माण

दुर्गा बिसी,

सल्यान १९, कात्तिक ।
कोरोना भाइरसको संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएको अबस्थामा सल्यानको पश्चिमी क्षेत्रमा भने भौतिक पुर्वाधार निर्माणको कामले गति लिएको छ । यसबिचमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका बिभिन्न बिद्यालयका गरेर १६ वटा नयाँ भवन निर्माण गरिएको छ । बिद्यालयमा भवन अभाव रहेको बिभिन्न बिद्यालयहरुमा नगरपालिका र प्रदेश सरकारले नयाँ बिद्यालय भवन निर्माण गरेका हुन् ।

शिक्षा क्षेत्रको भौतिक पुर्वाधार तर्फ मात्रै ४ करोड ५ लाख रुपैया खर्च नगरको शिक्षा शाखाले ९६ लाख रुपैँया खर्च गरेर २ कोठे ६ वटा बिद्यालय भवन निर्माण गरेको नगर शिक्षा शाखा प्रमुख चक्र रावतले जानकारी दिनुभयो । यस्तै नगरले ३ वटा शौचालय पनि निर्माण गरेको उहाँको भनाई छ । यस्तै कर्णाली प्रदेश सरकारको तर्फबाट २ करोड ४० लाख रुपैँया ८ वटा भवन निर्माण भएका छन् ।

कोरोनाको कहरका बिचमा पनि आबश्यक सर्तकता अपनाउदैँ भवन निर्माण कार्य सम्पन्न भएको इन्जिनियर महेश देवकोटाले जानकारी दिनुभयो । निकै चुनौतीपूर्ण घडिमा भौगोलिक विकटता भएका क्षेत्रका विद्यालयमा नयाँ भवन वन्नु राम्रो पक्ष भएको उहाँको भनाइ छ । नगरप्रमुख गोविन्द कुमार पुनले शैक्षिक गुणस्तर सुधारको लागी नगरले शिक्षा क्षेत्रमा करोडौँ वजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर सुधारको लागी नगरले काम गरिरहेको छ, एकै बर्षमा नगरभित्र १६ वटा बिद्यालय भवन निर्माण हुनु सुखद कुरा हो उहाँले भन्नुभयो । अहिले च्युरा, गर्छे, बामे, भलाखर्क, क्युरेनी, घर्तीगाउँ, लछुहाल्ने, जयतपानी, काफलपानी, खरेखोला, थापाचौर लगाएतका बिभिन्न स्थानमा रहेका बिद्यालयहरुमा नयाँ भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस