बुद्धि पुन,
सल्यान २४, कात्तिक ।
सल्यानको कालिमाटी गाउँपालिकामा सम्पुर्ण सेवा सहितको विशेषज्ञ सेवा संचालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा सोमबार विशेषज्ञ सहितको एकदिने निःशुल्क स्वास्थ्य सेवा शिविर कालिमाटी गाउँपालिकाको रामपुरमा सम्पन्न भएको हो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा कालिमाटी गाउँपालिकामा कोरोना भाइरसका बारेमा जानकारी प्रदान गर्ने र कोरोनाको जोखिमका कारण बाहिर गएर सेवा लिन बाट बन्चित नागरिकलाई स्थानीयस्तरमा नै सेवा प्रवाह गर्ने उद्देश्यले शिविर संचालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रशन रिखाराम पुनले जानकारी दिनुभयो । उहाँले यस शिविरबाट कोरोनाका कारण बाहिर गएर उपचार गर्न नपाएका नागरिकले स्थानीयस्तरमा नै सेवा पाएको उहाँको भनाई छ ।
कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले स्थानीयस्तरमा नै विशेषज्ञ सेवा सहित स्वास्थ्य शिविर संचालन गर्दा गाउँपालिकाबासीले छिटो, छरितो र स्तरीय सेवा पाएको बताउनुभएको छ । उहाँले आर्थिक अभावमा उपचारको लागी बाहिर जान नसक्ने बिरामीहरुको लागी यो शिविर कोशेढुंगा साबित भएको बताउनुभएको हो । यस्तै गाउँपालिका उपाध्यक्ष सहनशीलता वली (डिसी) ले यस्ता खालका स्वास्थ्य शिविर बेला(बेलामा संचालन गरिनुपर्ने बताउनुभएको छ ।
शिविरमा सेवा लिन आउनुभएका ९० बर्षिय नजिरी ओलीले गाउँमा नै स्वास्थ्य जाँच गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । “मेरो जिउ दुख्थ्यो, जाँच गर्न अस्पताल जाने सोचेको थिए, पैसा थिएन, एक्लै जान पनि धौँ हुन्छ, अहिले डाक्टर गाउँमा नै आएर सेवा दिनु भएको छ, म त धेरै खुसी छु“ उहाँले भन्नुभयो ।
सेवा लिन आउनु भएका अर्का स्थानीय ७५ बर्षिया ओबी सिरिसले कोरोनाका कारण उपचार गर्न बाहिर जान नपाएको अवस्थामा गाउँमा नै सेवा पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो “मलाई अलि सन्चो नभएको जस्तो भएको छ, तर कोरोनाको कारण बाहिर जान पाएको थिएन, गाउँमा नै सेवा पाए पछि पैसा खर्च गरेर दाङ्ग, नेपालगन्ज औषधि गर्न जानु परेन ।“
कोरोनाको कारण सहज रूपमा स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नपाएका नागरिकहरु विशेषज्ञ शिविर संचालन भएसंगै खुसी भएका छन । स्वास्थ्य शिविरमा महिला र पुरुष गरेर ३ सय १ जनाले सेवा लिनुभएको कार्यक्रम संयोजक तारा प्रसाद रिजालले जानकारी दिनुभयो । सो शिविरमा निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क रूपमा औषधि समेत वितरण गरिएको थियो ।
यसैबीच सल्यानको कालिमाटी गाँउपालिकामा रहेका ६० बर्ष माथीका सबै जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा कालिमाटी गाउँपालिकामा रहेका सबै जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।