सल्यानमा देउसी भैलो खेल्न नपाइने

जिल्ला भित्रिने तीन नाकामा थप कडाई

सल्यान २६, कात्तिक ।
नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिदै आएको देउसी भैली सल्यानमा यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ समुदाय स्तरमा नै फैलिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानले देउसी भैली खेल्न र नाँचगान गर्नमा रोक लगाएको हो ।

जिल्ला सुरक्षा समिति सल्यानको बैठकले यस बर्ष जिल्लामा देउसी भैली खेल्ने कार्यमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो । तिहारका अवसमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कत आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाभर परम्पराकाल देखि नै तिहारमा देउसीभैलो खेल्ने चलन रहेको छ ।

‘स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, अनावश्यक आवतजावत र भिडभाड नगर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भोज भतेर नगर्न पनि आग्रह गरेका छौँ’ प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो ‘जो जहाँ छौँ, त्यही चाडपर्व मनाउन आग्रह गर्दछौँ ।’ उहाँले तिहार मनाउन वजार देखी गाँउमा जाँदा यदी कसैलाई कोरोना संक्रमण भएको भएमा फैलिन सक्ने सम्भावना धेरै हुने भएकाले आफु बसेकै ठाउँमा चाडपर्व बनाउन उहाँले आग्रह गर्नुभएको छ ।

सल्यान भित्रिने तीन नाकामा थप कडाई
जिल्ला प्रहरी कार्यालय सल्यानले तिहार लक्षित सुरक्षा योजना तयार पारेर काम गरिरहेको जानकारी दिएको छ । तिहारको समयमा हुन सक्ने अपराधिक गतिविधिलाई रोक्न जिल्लाभर सुरक्षा योजना लागु गरिएको हो । यस्तै जिल्ला भित्रिने मूख्य नाकाहरु कपुरकोट, कालीमाटी र बन्गाडमा थप कडाई गरिएको छ ।

सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गोबिन्द थापाले तिहारमा पटका पट्काउने लगाएतका कार्यमा रोक लगाइएको बताउनुभएको छ । उहाँले जिल्लामा पटका आयातमा कडाई गरिनुका साथै पटका पट्काउन निषेध गरिनुका साथै घरेलु मदिराको बिक्रि वितरण तथा जुवातास खेल्न पनि प्रतिवन्ध लगाइएको जानकारी दिनुभयो । जिल्लाभर तिहार लक्षित झण्डै ३ सय प्रहरी परिचालन हुने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस