मन्त्री ज्वालाको पहलमा शारदा नदिमा पक्की पुल निर्माण हुदैँ

फाइल फोटो

सल्यान २६, कात्तिक ।
लामो समयको प्रयास पछि सल्यानको शारदा नगरपालिका १ श्रीनगर स्थित शारदा नदिमा पक्की पुल निर्माण हुने भएको छ । संघिय सरकारको वजेट मार्फत रणनितिक महत्वको पक्की पुल निर्माण हुने भएको हो । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र शारदा नगरपालिका १ र शारदा नगरपालिका वडा नम्बर १२ र १३ तथा छत्रेश्वरी गाउँपालिकालाई जोड्ने गरी पुल निर्माण हुने भएको हो ।

पुल निर्माणका लागी सडक डिभिजन कार्यालयले रु. १५ करोड २७ लाखमा टेण्डर आह्वान्न गरेको छ । जसले गर्दा पुल निर्माण हुने निश्चित भएको छ । विगत लामो समय देखी पुल निर्माणको लागी पहल गर्दै आएको र वजेट विनियोजन भएर अहिले पुल निर्माणको लागी टेण्डर प्रक्रिया अगाडी बढेको सल्यान प्रदेश सभा ख बाट निर्वाचित, कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका ज्वालाले जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगरबाट शारदा नगरपालिका वडा नम्बर १२ र १३ मुलडाँडा, स्यानिखाल हुदैँ छत्रेश्वरी गाउँपालिका जोड्ने गरी शारदा नदिमा पुल निर्माण हुने जानकारी दिनुभयो । पुल निर्माण पश्चात जोखिम मोलेर यात्रा गर्नुपर्ने नागरिकको बाध्यता हट्ने बताउदैँ उहाँले स्थानिय उत्पादनलाई वजारीकरण गर्न समेत मद्धत मिल्ने बताउनुभयो ।

‘स्थानिय स्तरमा उत्पादित कृषिजन्य तथा पशुजन्य लगाएतका उत्पादनलाई जिल्लाको मुख्य वजार श्रीनगरमा लैजानको लागी यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ’ मन्त्री ज्वालाले भन्नुभयो ‘सबै निकायको पहलबाट पुल निर्माणको लागी प्रक्रिया अगाडी बढेको छ, अब यसलाई गुणस्तरीय र छिटो काम सम्पन्न गर्नको लागी सबै क्षेत्र लाग्नुपर्दछ ।’ उहाँले आजको सुन्दर, भोलीको समृद्ध सल्यानका लागी सहकार्य गर्न सबैमा आग्रह गर्नुभएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस