कोरोना संक्रमित भेटिएपछि बागचौर नगरपालिका शिल

सल्यान २७, कात्तिक ।
स्थानियमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सल्यानको बागचौर नगरपालिका शिल गरिएको छ । बागचौर नगरपालिका वडा नम्बर २ मा केही दिन अगाडि उपचार पश्चात थप उपचारको लागी नेपालगन्ज रिफर गरिएका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बागचौर नगरपालिका मंसिर ५ गतेसम्म शिल गरिएको हो । आज देखि मंसिर ५ गतेसम्म नगरपालिका शिल गरिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिका सहित वडा नम्बर २ को थारमारे बजार, बागचौर बजार, जिउला, खरिबोट बजार, शिक्षण संस्थाहरु, सरकारी तथा नीजि कार्यालयहरु, वित्तिय संस्था लगाएत सबै शिल गरिएको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो । नगरको पुर्वमा शारदा खोला, पश्चिममा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै लस्तम अग्ला टाकुरा, उत्तरमा पाण्डल खोलाको टाट्के जाने बाटोको पुल र दक्षिणमा ठिनवाङ्ग खोला पुलसम्मको क्षेत्र सिल गरिएको नगरपालिकाले जनाएको छ ।


साथै कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएकाले आबश्यक साबधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस