सल्यान ५, मंसिर ।
बिश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा सल्यानमा समुदाय स्तरमा नै कोरोना भाइरस संक्रमण फैलिदैँ गएको छ । बिगतमा भारत लगाएतका तेस्रोमुलुक बाट फर्किएका नागरिकहरुमा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि हुने गरेको भएपनि पछिल्लो समयमा भने जिल्लाका स्थानिय नागरिकमा नै कोरोना भाइरस संक्रमण देखिएपछि समुदायमा नै कोरोना फैलिएको पुष्टि भएको हो ।
अहिले मान्छेहरुको भिडभाड हुने जिल्लाका मूख्य क्षेत्रहरुमा कोरोना भाइरसको जोखिम उच्च रहेको छ । शुरुमा स्थानिय स्वास्थ्यकर्मीमा देखिएको कोरोना सुरक्षाकर्मी, बिभिन्न कार्यालयका कर्मचारी हुदैँ स्थानिय नागरिकमा समेत पुष्टि भएको छ । जसका कारण जिल्लाभर उच्च सर्तकता अपनाइएको छ । भिडभाड नगर्न, मास्क र स्यानिटाइजरको प्रयोग गर्न, सावुनपानीले मिचिमिचि हात धुन लगाएत स्वास्थ्य सुरक्षाका उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय सल्यानले आग्रह गरेको छ ।
तर समुदाय स्तरमा कोरोना देखिएपछि जिल्लाका बिभिन्न क्षेत्रहरु भने सिल गरिएको छ । गत कात्तिक २९ गते देखी जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर सिल गरिएको छ । यस्तै गत कात्तिक २७ गते देखी बागचौर नगरपालिका सहित मुख्य वजार क्षेत्र थारमारे, वागचौर लगाएतको सिल गरिएको छ भने कात्तिक २९ गते देखी आकस्मिक सेवा बाहेकका अरु सेवाहरु पनि जिल्ला अस्पताल सल्यानले बन्द गरेको छ ।
अहिले कोरोना भाइरसको जोखिम उच्च भएकाले आबश्यक सजकता अपनाउन आग्रह गरिएको शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयो । श्रीनगर वजारका स्थानियमा पनि कोरोना देखिएकाले आबश्यक सजकता अपनाउन आग्रह गरिएको उहाँको भनाई छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा पिसिआर परिक्षण गर्न उहाँले आग्रह गर्नुभएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अहिले जिल्लाभर कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या ५७ रहेको छ । अहिले ती सबै संक्रमित जिल्लाका बिभिन्न होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले अहिलेसम्म जिल्लाभर ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
ती मध्ये अहिले सम्म ५ सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । हाल सम्म जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यू भएको छ ।