सल्यानका चार स्थानिय तहमा सुरक्षित सिकाई परियोजना संचालन

बृहत सुरक्षित बिद्यालय गुरु योजनाको बारेमा अभिमुखिकरण सम्पन्न

फाइल तस्बिर

सल्यान ५, मंसिर ।
सल्यानका ४ वटा स्थानिय तहका बिद्यालयहरुमा सुरक्षित सिकाई परियोजना लागु गरिएको छ । बालबालिकाहरुको सुरक्षाको प्रवद्र्धन गरी सिकाईको लागि अनुकूल वातावरण निर्माण गर्न परियोजना लागु गरिएको हो । विश्व शिक्षाको आर्थिक सहयोग र सिविन नेपालको सहजीकरणमा जिल्लाको शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका र कुमाख गाउँपालिकामा परियोजना सञ्चालन गरिएको छ ।
सुरक्षित सिकाई परियोजना ४ वटा पालिकाका १६ वटा सामुदायिक विद्यालयहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रम संयोजक सन्तोष बिकले जानकारी दिनुभयो । परियोजनाले विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, वालवालिकाहरुसंग सहकार्य गरेर विद्यालय सुधार योजनामा विद्यालय सुरक्षा नीतिहरु समावेश गर्न उत्प्रेरित गर्ने उहाँको भनाई छ ।
विद्यालयहरुको शैक्षिक प्रणालीको सुदृढीकरण र विकासमा सघाउ पु¥याउने, शिक्षकहरुको क्षमता विकासमा सघाउ पु¥याउने, विद्यालय तथा समुदायका विद्यार्थीहरूको क्षमता विकासमा सघाउनुका साथै समुदायको सहभागिता सुनिश्चित गर्ने उद्धेश्यले परियोजना सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो । साथै बिद्यालयमा हुनसक्ने हिंसालाई न्यूनिकरण गर्नमा परियोजनाले टेवा पु¥याउने उहाँको भनाई छ ।
यसैबिच बृहत सुरक्षित बिद्यालय गुरु योजनाको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित सिकाई परियोजना लागु भएका सल्यानका ४ वटा स्थानिय तह र जाजारकोटको भेरी नगरपालिकाका जनप्रतिनिधिका साथै शिक्षा, महिला तथा बालबालिका शाखाका प्रमुखहरुको सँग शुक्रवार जुम मिटिङ मार्फत अभिमुखिकरण गरिएको हो ।
कार्यक्रमका सहभागिहरुले सुरक्षित सिकाईको वातावरण बनाउन आफुहरुले नियमित रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले समाजमा रहेका विभिन्न समाजिक मुल्यमान्यताका कारण शिक्षा क्षेत्रमा समस्या बढ्दै गएको जनाउँदै आफुहरुले सुरक्षित विद्यालय, समुदाय निर्माणका लागि काम गर्ने बताएका हुन् ।
अभिमुखिकरण कार्यक्रमको प्रशिक्षकमा मानव श्रोत बिकास केन्द्रका निर्देशक घनश्याम अर्याल र रामचन्द्र तिमिल्सिना रहनुभएको थियो । विश्व शिक्षाका कार्यक्रम ब्यवस्थापक ज्योती राना मगरले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सिद्धराज पनेरूले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस