कोरोना रोकथाम तथा नियन्त्रणको लागि सल्यानमा सचेततामुलक कार्यक्रम

स्वास्थ्य सेवाबाट कोहि पनि बन्चित हुनुपर्दैन : मेयर अधिकारी

सल्यान ८, मंसिर ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिदैँ गएको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणको लागि सल्यानमा सचेततामुलक कार्यक्रम संचालन गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिदैं गएकोले यसको रोकथाम तथा नियन्त्रणको लागि जनचेतना फैलाउने र स्थानीय स्तरमा नै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सेवा शिविर संचालन गरिएको हो ।

यसैक्रममा आइतबार स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा विशेषज्ञ सहितको एकदिने कोभिड-१९ स्क्रीनिङ्ग तथा निःशुल्क स्वास्थ्य सेवा शिविर शारदा नगरपालिका वडा नम्बर १२ र १३ को लेखडाँग्रीमा सम्पन्न भएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा कोरोना भाइरसका बारेमा जानकारी प्रदान गर्ने र कोरोनाको जोखिमका कारण बाहिर गएर सेवा लिन बाट बन्चित नागरिकलाई स्थानीयस्तरमा नै सेवा प्रवाह गर्ने उद्देश्यले शिविर संचालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रशन रिखाराम पुनले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले नगरपालिका नागरिकको स्वास्थ्य सुरक्षाप्रति सजक रहेको बताउनु भएको छ । उहाँले नागरिकलाई छिटो, छरितो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्नको लागि काम गरिरहेको बताउनुभयो ।
“स्वास्थ्य क्षेत्र हाम्रो प्राथमिकतामा परेको छ, नागरिकलाइ स्तरीय सेवा प्रवाह गर्नको लागि बर्षेनी करोडौं वजेट विनियोजन गर्दै आएका छौँ” उहाँले भन्नुभयो “अब स्वास्थ्य सेवाबाट कोहि पनि बन्चित हुनुपर्दैन ।” स्तरीय स्वास्थ्य उपचार पाउनु नागरिकको मौलिक अधिकार भएको बताउदैँ नगरप्रमुख अधिकारीले अहिले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले आवश्यक सजकता अपनाउदैँ स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन अनुरोध गर्नुभयो ।


शारदा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दिपक हमालको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा नगर कार्यपालिका सदस्य गोमा पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन नगर स्वास्थ्य शाखा संयोजक बिरेन्द्र हमालले गर्नुभएको थियो । शिविरमा डा. नविन बुढाथोकी, डा. मान बहादुर केसी र डा. स्वंयम महतले नागरिकको स्वास्थ्य जाँच गर्नुभएको थियो ।

कोरोनाको कारण सहज रूपमा स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नपाएका नागरिकहरु विशेषज्ञ शिविर संचालन भएपछि खुसी भएका छन । स्वास्थ्य शिविरमा महिला र पुरुष गरेर २ सय ५३ जनाले सेवा लिनुभएको कार्यक्रम संयोजक तारा प्रसाद रिजालले जानकारी दिनुभयो । यस्तै कोरोनाको पिसिआर परिक्षणका लागि ७ जनाको स्वाव संकलन गरिएको छ । सो शिविरमा निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क रूपमा औषधि समेत वितरण गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस