कोरोना प्रभाव : आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण


सल्यान ९, मंसिर
कोभिड–१९ महामारीकाबीच पछिल्लो समय सल्यानमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । अहिले जिल्लामा आयुर्वेदिक औषधिको प्रयोग गर्ने र आयुर्वेदिक उपचार पद्धति अवलम्वन गर्ने नागरिकको संख्या पनि बढ्दै गएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यान अन्र्तगत रहेको आयुर्वेदिक शाखा खलंगामा अहिले दैनिक रुपमा ३० जना सम्म सेवाग्राही आउने गरेको कार्यालयको भनाई छ । शाखा प्रमुख, कविराज निरक्षक सञ्जय प्रसाद शाहले उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्धतिको महत्व झन् बढेको र सेवा लिन आउने नागरिकहरुको संख्या पनि बढेको जानकारी दिनुभयो ।
‘आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो । अहिले कोरोनाले असर पारिरहेको अबस्थामा घरायसी जडिबुटि बेसार, अदुवा, टिमुर, गुर्जो लगाएतका रोगप्रतिरोधी क्षमता बढाउने जडिबुडिको प्रयोग विगतको तुलनामा अत्याधिक मात्रामा बढेको छ ’ उहाँले भन्नुभयो ।
उहाँले स्थानीयस्तरमै पाइने जडीबुटी निकै लाभदायक रहेको बताउनुभएको छ । कोरोनाको महामारी फैलदैँ गएको अबस्थामा रागप्रतिरोधात्मक क्षमता बढाउने स्थानिय जडिबुडीको माग पनि बढ्दै गएको उहाँको भनाई छ । अहिले ग्याष्ट्रिक, दम, खोकी, पिनास, बाथरोग, पायल्स, हाडजोनी दुखाई लगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राहीको संख्या बढेको उहाँले जानकारी दिनुभयो ।
‘आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि धेरै जसोले आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको छ’ उहाँले भन्नुभयो । अहिले पञ्चकर्म, पूर्वकर्म सेवा सहित नियमित योगा परिक्षण सञ्चालन गर्ने तयारी भएको उहाँको भनाई छ ।
उहाँले आबश्यक भवन अभाव हुदाँ स्तरीय सेवा प्रवाह गर्न समस्या भैरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस