सल्यान : सालका रुखमा झुसिल किराको प्रकोप

तत्काल नियन्त्रण गर्न सक्ने सम्भावना छैन : वन कार्यालय

बुद्धि पुन,
सल्यान १०, मंसिर ।
सल्यानमा पहिलो पटक झुसिल किराको प्रकोप देखा परेको छ । यस बर्ष जिल्लाको कालीमाटी गाउँपालिकामा रहेका प्रायः वनहरुमा झुसिल किराको प्रकोप देखा परेको हो । झुसिल किराले सालका पातहरु खाएपछि सबै रुख नाँगै भएका छन् । बालीनाली खाने जस्तै झुसिल किरा सालको रुखका पातमा बसेर पात खाएपछि रुखहरु नाँगै बनेको स्थानियले बताएका छन् ।
अहिले कालीमाटी गाउँपालिका भित्रको साल मिश्रित तल्लो क्षेत्रका सामुदायिक, राष्ट्रि तथा निजि वनहरुमा रहेका सालका पातहरु झुसिल किराले खाएर सखाप पारेको छ । किराले पातभरी सवै खाएपछि कालीमाटी क्षेत्रमा रहेका सालका रुखहरुको जंगल चैत बैशाख महिनाझैं उजाड र नाँगो बनेको छ ।
पाथिटाकुरा सामुदायिक वन समुह कालीमाटी गाउँपालिका वडा नम्बर २ झिंगालेका उपाध्यक्ष दल बहादुर वलीले साना ठूला सालका रुखको पात अहिले झुसिल किराले खाएर उजाड बनेको जानकारी दिनुभयो । उहाँले विगतमा यस्तो कहिल्यै नभएको स्मरण गर्दै करिव तीन÷चार महिनादेखि जंगल उजाड लाग्दो भएको जानकारी दिनुभयो ।
‘किराले सालको पातमै लार्भा पार्ने र त्यही ठूलो भएपछि पातजति जम्मै सखाप पार्ने गरेको छ, अहिले सालको रुख मुनि किरैकिरा मात्रै छन्’ उहाँले भन्नुभयो ‘साल सँगै साजका रुखका पातहरु पनि सबै खाएर सखाप पारेको छ ।’ उहाँले च्यूरी, धौवाका रुखका पात भने नखाएको जानकारी दिनुभयो । ‘अहिले वनजंगल हरियाली हुनुपर्ने हो, तर उजाड बनेको छ’ उहाँले भन्नुभयो ‘बनजंगलमा घाँस काट्न जान नै सकिदैन्, जंगलमा बस्तुभाउ चराउन नलगेको धेरै भो ।’ झुसिल किरा कै कारण जंगलको बाटोमा हिड्न गाह्रो हुने गरेको उहाँको भनाई छ ।
कालीमाटीमा रहेका सालका सबै रुखमा झुसिलकिरा भरिएको स्थानिय नेत्र वलीले जानकारी दिनुभयो । झुसिल किराले माकुराको जस्तो जालो लगाउने भएकाले मौरीपालनमा समेत समस्या भएको उहाँको भनाई छ । सालका रुखका पातहरु नाँगै हुँदा पनि सम्बन्धित निकायले रोकथामको पहल नगरेको उहाँले बताउनुभयो । किराको प्रकोप यस्तै बढ्दै गएमा सालका रुखहरु काम नलाग्ने अवस्थामा पुग्ने भन्दै स्थानियको चिन्ता ब्यक्त गरेका छन् ।
डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी मनोज शर्मा लम्सालले झुसिल किराको प्रकोपका बारेमा कार्यालयमा सुचना आएपछि आफुहरुले स्थलगत रुपमा अनुगमण गरेको बताउनुभयो । पात खाने किरा झुसिल किराले नै सालका पात सखाप पारेको बताउदैँ उहाँले यसको रोकथाम तथा नियन्त्रणका लागी कार्यालयले पहल गरिरहेको जानकारी दिनुभयो ।
‘झुसिल किराको समस्या कालीमाटीको जलाधार क्षेत्रमा देखिएको छ, झुसिल किराले पात मात्रै खान्छ तर डाठहरुमा कुनै असर गर्दैन्’ उहाँले भन्नुभयो ‘झुसिल किराको नियन्त्रण गर्न विषादी छर्कनुपर्छ, यति ठूलो जंगलमा यो सम्भव छैन्, यसका लागी माथिल्लो निकायमा जानकारी गराएका छौँ ।’ उहाँले झुसिल किराको बारेमा विस्तृतमा अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस