सल्यान ११, मंसिर ।
सल्यानको शारदा नगरपालिकाको वजेट मार्फत निर्माण गरिएको अस्पताल भवन हस्तान्तरण गरिएको छ । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले नगरपालिकाको वजेट मार्फत निर्माण गरिएको तीन तले अस्पताल भवन बिहीवार अस्पताल विकास समितीलाई हस्तान्तरण गर्नुभएको हो । शारदा नगरपालिकाको करिब सवाँ २ करोड रुपैँयाको लागतमा अस्पताल भवन निर्माण गरिएको थियो ।
नगरपालिकाको सबैभन्दा ठूलो योजनाको रुपमा रहेको यस भवन निर्माण सम्पन्न भए पश्चात हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । सल्यान अस्पताल भवन जिर्ण अवस्थामा रहेको र सेवा प्रवाहमा समस्या भएपछी नगरपालिकाले अस्पताल भवन निर्माण गर्न प्रथम साधारण सभाबाट बजेट विनियोजन गरेको थियो ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले स्वास्थ्य क्षेत्रको विकास र नागरिकलाई स्तरीय सेवा प्रवाह गर्नका लागी नगरपालिकाले वजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्यमा नागरिकको पहुँच नपुगेका नगरका स्थानहरुमा स्वास्थ्य क्लिनिक हरु सञ्चालन गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो ।
‘स्तरीय स्वास्थ्य उपचार सेवा नपाएर नागरिकहरु बाहिर जानुपर्ने बाध्यता रहेको थियो, जसमा जिल्ला अस्पतालमा आबश्यक भवन नहुदाँ नागरिकलाई सेवा प्रवाह गर्न समेत समस्या हुदैँ आएको थियो’ उहाँले भन्नुभयो ‘नागरिकलाई छिटो छरितो र जिल्लामा नै स्तरीय सेवा प्रवाह गर्न सहजताको लागी अस्पताल भवन निर्माण गरिएको हो ।’ उहाँले अबका दिनमा सेवा प्रवाह गर्न थप सहजता हुने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भवन निर्माणका साथै नगरले अस्पतालका लागि अन्य भौतिक र प्राबिधिक सहयोग गरेको पनि स्मरण गर्नुभयो । नगरले जिल्ला अस्पतालका लागि भवन, एक्सरे मेसिन, जेनेटर लगाएतका गरेर ५ करोड बढीको सहयोग गरेको उहाँको भनाई छ । उहाँले आगामी दिनमा पनि अस्पतालको बृद्धि विकासको लागी सहयोग गर्न नगरपालिका तयार रहेको जानकारी दिनुभयो ।
अस्पताल विकास समितीका अध्यक्ष चन्द्र प्रकाश वलीको अध्यक्षतामा भएको भवन हस्तान्तरण कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले पछिल्लो समयमा अस्पतालको महत्व बढ्दै गएको बताउनुभएको छ । नगरपालिकाको सबै पक्ष मिलेर नै अस्पताल भवन निर्माण कार्य सम्पन्न भएको बताउदैँ उहाँले जिल्ला अस्पतालमा नागरिकहरुको बिश्वास बढ्दै गएको र उपचारको लागी आउने नागरिकहरुको संख्यामा पनि बृद्धि भएको बताउनुभयो ।
जिल्ला अस्पतालमा सल्यान सहित आसपासका जिल्ला रोल्पा, रुकुम, जाजारकोट वाट समेत सेवा लिन नागरिकहरु आउने गर्दछन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ कुमार श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा डा. प्रदिप शर्मा, इन्जिनियर भरत बुढाथोकी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा, निर्माण ब्यवसायी अरविन्द्र कुमार राई लगाएतको सहभागिता रहेको छ ।
नगरपालिकाले हस्तान्तरण गरेको भवनलाई ओपिडी कक्षका रुपमा प्रयोग गर्ने अस्पताल स्रोतले जनाएको छ । नगरपालिकाको वजेटबाट द कयाराभान/निशान भुमि जेभिले भवन निर्माण कार्य सम्पन्न गरेको हो ।