सल्यान १२, मंसिर ।
सल्यानको शारदा नगरपालिका–१ निवासी २७ वर्षीया बलात्कार पीडित महिलालाइ इन्सेकले आर्थिक सहयोग गरेको छ । बोल्न र सुन्न नसक्ने २७ वर्षीया छोरीलाइ गत कात्तिक २ गते बलात्कार गरेपछि आर्थिक अवस्था कमजोर भएका कारण न्यायका लागी सदरमुकाम आउन जान समस्या भएको पिडीत परिवारले बताएपछि इन्सेकले विहीवार दश हजार रुपैयाँ सहयोग गरेको हो ।
जिल्ला अदालतको कार्यालयमा नेपाल बार एशोसिएशनका जिल्ला अध्यक्ष लाल बहादुर रावत र जिल्ला अदालतका मुद्दा फाँट प्रतिनिधी राम बहादुर केसीको रोहबरमा पीडित महिला र उनका बुवालाइ इन्सेक जिल्ला प्रतिनिधी मिना बुढाथोकीले रकम हस्तान्तरण गर्नु भएको हो । बोल्न पनि नसक्ने र प्रतिकार समेत गर्न नसक्ने अवस्थामा रहेकी छोरीलाइ आरोपितले कात्तिक २ गते राति पीडितकै कोठामा बलात्कार गर्दै गर्दा पीडितकी आमाले देखेपछि छिमेकीले युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घटनाका आरोपित शारदा नगरपालिका–१ शान्तिनगर निवासी ३२ वर्षीय शरद रेउलेलाइ प्रहरीले कात्तिक ३ गते पक्राउ गरेको थियो । पीडित पक्षले आरोपित विरुद्ध कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।