सिद्ध कुमाखमा ‘प्रशासनिक भवन’ निर्माण


सल्यान १५, मंसिर ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आफ्नै भवन मार्फत सेवा प्रवाह गर्ने तयारी गरेको छ । गाउँपालिका स्थापना भएदेखी भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले अहिले आफ्नै भवनबाट सेवा गर्ने तयारी गरेको हो । यस आर्थिक बर्ष भित्रमा आफ्नै भवनबाट सेवा गरिने गाउँपालिकाले जनाएको छ ।
जसअनुसार अहिले सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ को ढोरचौरमा प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाँउपालिकाका इन्जिनियर प्रविन बस्नेतले जानकारी दिनुभयो । रु. ३ करोड १२ लाखमा रोयल कन्स्ट्रक्सन धनगढी नेपाललले कामको जिम्मेवारी लिएको थियो । २८ वटा कोठा भएको तीन तले प्रशासनिक भवनमा कार्पेट बिच्छाउने र झ्याल ढोकामा सिसा राख्ने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका सुचना अधिकारी भिम भण्डारीले तोकिएको समय भित्रमा नै प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र बाँकी काम पुरा हुन बित्तिकै आफ्नै कार्यालयबाट सेवा प्रवाह गरिने जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको कार्यालय सँगै वडा नम्बर ३ को वडा कार्यालय भवनको पनि निर्माण कार्य सम्पन्न भएको छ ।
यस्तै वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको छ । यस्तै वडा नम्बर २ को वडा कार्यालय भवन निर्माणको तयारी भैरहेको छ भने वडा नम्बर १ र ५ ले पुराना गाविस भवन बाट सेवा प्रवाह गरिरहेका छन् । अवका दिनमा गाउँपालिकाले प्रदान गर्ने सेवा सुबिधालाई थप छिटो, छरितो र स्तरीय वनाउन मद्धत मिल्ने उहाँको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउने आबश्यक संरचना नहुदाँ गाउँपालिकाबाट सेवा प्रवाहमा समस्या भएको बताउनुभएको छ । भाडाको भवनबाट सेवा प्रवाह गर्दा असजिलो हुने गरेको बताउदैँ उहाँले अब आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सहजता आउने बताउनुभयो ।
‘भवन अभावका कारण हामीलाई काम गर्न समस्या भैरहेको छ, अहिले हामीले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्न थालेपछि सजिलो हुने छ ।’ उहाँले गाउँपालिका अध्यक्षमा आफु निर्वाचित भएपछि आफ्नै भवन निर्माण गर्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
‘अहिले हामीले संरचना अभावका वावजुत सिमित स्रोत र साधनले काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो । उहाँले यसैबर्षमा आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्नेगरी तयारी भैरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित