स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न अस्पताल निर्माण : मन्त्री ज्वाला

सल्यान १५, मंसिर ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागी सरकारले आधारभूत अस्पताल निर्माणको थालनी गरेको बताउनुभएको छ । सोमवार सल्यानको छत्रेश्वरी गाउँपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरामा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री ज्वालाले अब स्तरीय स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि बञ्चित हुनु नपर्ने बताउनुभएको छ । ‘उपस्वास्थ्य चौकीलाई बृद्धि र बिकास गर्दै १५ शैयाको आधारभूत अस्पतालको रुपमा विकास गर्नथालेका छौँ, अब यसबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय बनाउन आबश्यक छ’ उहाँले भन्नुभयो ‘ग्रामिणस्तरमा नै अस्पताल निर्माण हुदैँ छ, अब रोग पालेर बस्ने दिन आउदैँनन् ।’ उहाँले अब सामान्य खालका उपचारको लागी पनि दाङ नेपालगन्ज जानुपर्ने बाध्यता हटेको बताउनुभएको छ ।
मन्त्री ज्वालाले जिल्ला अस्पताल सल्यानलाई ५० शैयाको अस्पतालको रुपमा विकास गर्न थालिएको जानकारी दिनुभयो । जसका लागी पूर्वाधार निर्माण गर्न करिब ३४ करोड लगानीमा पूर्वाधार निर्माणको काम शुरु गरिने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष केसीले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनको लागी स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर काम गरिरहेको जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता केसी, छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष प्रेम बहादुर खड्का, नेकपाका छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज हरी केसी, नेपाली काँग्रेसका प्रतिनिधि शिवप्रसाद खत्री, प्राथामिक स्वास्थ्य केन्द्र ब्यबस्थापन समितीका उपाध्यक्ष गोबिन्द केसी, पूर्वअध्यक्ष डिल्ली बहादुर वली, समाजसेबी खेमराज वली लगाएतकाले बोल्नुभएको थियो ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तथा प्राथामिक स्वास्थ्य केन्द्र ब्यबस्थापन समितीका अध्यक्ष लिलाधर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख केशरी देबी भट्टराईले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन इन्चार्ज बिर बहादुर वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस