अबको शिक्षा उत्पादन र स्वरोजगारमुलक हुनुपर्छ : मन्त्री ज्वाला


सल्यान १८, मंसिर ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अबको शिक्षा उत्पादन र स्वरोजगारमुलक हुनुपर्ने बताउनुभएको छ । अहिले देशभर शैक्षिक प्रमाणपत्र प्राप्त गरेका हजारौं युवायुवती बेरोजगार रहेको बताउदै उहाँले अबको शिक्षा रोजगार र उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको हो । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ४ लामाडाँडामा रहेको शहिद नेत्रलाल अभागी प्राबिधिक शिक्षालयमा नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री ज्वालाले प्राबिधिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । ‘अहिले शिक्षाको महत्व बढ्दै गएको छ, शिक्षाले मानिसको आचरण परिबर्तन गर्छ, रोजगारीको अवशर सिर्जना गर्दछ’ उहाँले भन्नुभयो ‘अब प्राबिधिक शिक्षालाई रोजगारी, सिप, व्यबसाय, उत्पादन र श्रम संग जोड्नु पर्दछ ।’ उहाँले प्राबिधिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
मन्त्री ज्वालाले निरन्तरको प्रयास बाट मात्रै जिल्लामा शिक्षालय स्थापना भएको बताउनुभयो । ‘जिल्लाका बिद्यार्थीहरु प्राबिधिक तथा सिपमुलक शिक्षा आर्जनका लागी बाहिरी जिल्लामा गैरहेको अबस्थामा जिल्लाको आबश्यकतालाई महशुस गरेर शिक्षालय स्थापना गरेका हौँ’ उहाँले थप्नुभयो ‘अहिले बाहिरी जिल्लाबाट बिद्यार्थीहरु शिक्षा आर्जनको लागी जिल्लामा आइरहेका छन् ।’
उहाँले प्राबिधिक शिक्षालयको बिकास र संरचना निर्माणको लागी सरकारले काम गरिरहेको बताउनुभयो । ‘आबश्यक संरचना निर्माणका लागी पूर्वाधार बिशेष कार्यक्रम मार्फत शिक्षालयमा बर्षेनी वजेट विनियोजन भएको छ, यसका साथै स्थानिय तह, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्न आबश्यक छ’ उहाँले भन्नुभयो ।
मन्त्री ज्वालाले अहिले प्राबिधिक शिक्षालयमा पठनपाठन भैरहेका बिषयमा थप अरु बिषय समाबेश गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले यहाँ इन्जिनियरिङ र पशु बिज्ञान बिषयको पठनपाठन भैरहेको छ, अब थप अरु बिषयको पनि पठनपाठन शुरु गर्नुपर्दछ, यसका लागी वन बिज्ञान, कृषि बिज्ञान जस्ता बिषय समाबेश गर्ने तयारी भैरहेको छ ।’
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले अहिलेको आबश्यकता ब्यवहारिक र ब्यबसायिक शिक्षा भएको बताउनुभएको छ । यस्तै नेकपाका नेता रमेश मल्लले प्राबिधिक शिक्षालयबाट उत्पादित जनशक्ति उत्पादन र आयआर्जनका कार्यमा सरिक हुनुपर्ने बताउनुभएको छ ।
यस्तै प्राबिधिक शिक्षा तथा तालीम परिषदका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्राबिधिक शिक्षाको क्षेत्रमा कर्णाली प्रदेशले फड्को मार्दै गएको बताउनुभएको छ । बिद्यार्थी र अभिभावकहरुको रुचि पनि प्राबिधिक शिक्षामा भएकाले यस क्षेत्रमा थुप्रै जनशक्ति उत्पादन भएको र यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षालय संचालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालय प्रमुख कृष्ण बिर नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षालयका  सूचना अधिकारी   इन्द्र कुमार शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस