२९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवश : शारदा नगरपालिकाका २ जना सम्मानित


सल्यान १९, मंसिर ।
२९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवश सल्यानमा मनाइएको छ । शारदा नगरपालिका सल्यानको आयोजना र कल्याणकारी अपाङ्ग सेवा संघ सल्यानको सहकार्यमा बिहीबार जिल्लाको सदरमुकाम खलंगामा अपाङ्ग दिवश मनाइएको हो । ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमन को सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका दिवश मनाइएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले अपाङ्गता भएका ब्यक्तिहरुको हरेक क्षेत्रमा अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । उहाँले अपाङ्गताको क्षेत्रमा बिबिध कानुन निर्माण भएपनि कार्यान्वयनमा केही समस्या भएको बताउदैँ शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका सम्पूर्ण क्षेत्रहरुमा समाबेशिता आबश्यक रहेको बताउनुभएको हो ।
शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले हरेक क्षेत्रमा पछाडी परेका अपाङ्गता भएका नागरिकहरुको हकहितका लागी आफुले सक्दो पहल गर्ने बताउनुभएको छ ।
यस्तै शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले नगरपालिकाले सञ्चालन गर्ने सबै गतिबिधिहरुमा अपाङ्गता भएका ब्यक्तिहरुलाई समाबेश गर्ने बताउनुभएको छ । सो अबशरमा कल्याणकारी अपांग सेवा संघ सल्यानका टेक बहादुर चलाउनेले ध्यानाकर्षण पत्र शारदा नगरपालिकाका उपप्रमुख बस्नेतलाई बुझाउनुभएको थियो ।
कार्यक्रममा शारदा नगरपालिका भित्रका अपाङ्गता भएका ऋषिराज भण्डारी र पबित्रा बिकलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा कल्याणकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बहादुर बुढाले स्वागत मन्तब्य राख्नुभएको थियो । सन १९९२ देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस