सल्यान २२, मंसिर ।
कोरोना भाइरस रोकथामको लागी सरकारले गरेको लकडाउनको अबधिमा सल्यानमा आपराधिक घटनाहरुमा बृद्धि भएको पाइएको छ । गत आर्थिक बर्ष २०७५ चैत ११ गते देखी २०७६ साल मंसिर २१ गते सम्मको भन्दा सरकारले घोषणा गरेको लकडाउन देखी हाल सम्मको तथ्यांकलाई हेर्दा आपराधिक गतिबिधिहरुमा बृद्धि भएको पाइएको हो ।
लकडाउन शुरु भएदेखी हाल सम्ममा जिल्लामा ५१ वटा आपराधिक घटनाहरु भएका छन् । तर अघिल्लो आर्थक बर्षको सोही अबधिमा ४७ वटा मात्रै आपराधिक घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको संयुक्त आयोजनामा आइतवार आयोजित १ दिवशिय अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
सल्यान प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक गोबिन्द थापाले लकडाउनको अबधिमा भएका आपराधिक गतिबिधिहरुको तथ्यांक सार्वजनिक गर्दै गत बर्षको सोही अबधिको भन्दा धेरै घटनाहरु भएको बताउनुभएको हो । उहाँका अनुसार यस अबधिमा जवरजस्ती करणी र उद्योगका २८, बालबिवाहका ३ र बहुबिवाहका २० वटा घटनाहरु घटेका छन् । अघिल्लो आर्थिक बर्षको सोही अबधिमा जवरजस्ती करणी र उद्योगका १९, बालबिवाहका ५ र बहुबिवाहका २३ वटा घटनाहरु घटेका थिए ।
अघिल्लो बर्षको तुलनामा यस अबधिमा ४ वटा बढी आपराधिक घटनाहरु भएको उहाँको भनाई छ । यस्तै लकडाउन देखी हाल सम्ममा ७२ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष ४१ जना र महिला ३१ जना रहेका छन् । यस्तै १ सय २६ जनाले आत्महत्याको प्रयास गरेका छन् भने ५४ जना उपचार पश्चात निको भएका छन् ।
पछिल्लो समयमा हिंसा न्यूनिकरणमा सक्रिय रहेको प्रहरीको भनाई छ । अहिले हिंसा न्यूनिकरणका लागी प्रहरीले सचेतना कार्यक्रम, पहुँचयोग्य प्रहरी, अनुसन्धानमा गाम्भीर्यता, गोपनियता कायम, सरोकारवालासँग समन्वय लगाएतका कार्यहरु गर्दै आएको थापाको भनाई छ ।
‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः ब्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय सल्यानका प्रमुख, सहायक न्यायधिबक्ता भीमसेन काफ्ले र महिला अधिकारकर्मी तथा प्रत्रकार मिना बुढाथोकीले लैगिक हिंसा र मानवअधिकारका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले देशमा ब्यवस्था परिर्वतन भएपनि अबस्था परिवर्तन हुन नसकेको बताउनुभएको छ । राजनितिक परिवर्तन सँगै देशमा भएका ब्यवस्था फेरिएपनि समाज रहेका समस्याहरुको अबस्था नफेरिएको बताउनुभएको हो ।
नागरिकको सोचाइ परिर्वतन नहुदाँ समाजमा अझै पनि कहिकतै लैंगिक हिंसाका घटनाहरु हुने गरेको बताउदैँ उहाँले यसले सामाजिक सहिष्णुततामा खलल् पु¥याएको बताउनुभएको छ । ‘समाजमा हुने हिंसा अन्त्य हुन त सक्दैन् तर यसको न्यूनिकरण गर्न भने सकिन्छ’ उहाँले भन्नुभयो । यसका लागी सरोकारवालाहरुको भूमिका महत्वपूर्णहरु उहाँको भनाई छ ।
शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिका उपप्रमुख कल्पना पुन, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहरा लगाएतको बोल्नुभएको थियो । शारदा नगरपालिकामा कार्यरत सिता मल्लको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक लक्ष्मण ओलीले गर्नुभएको थियो ।