सल्यानमा उत्पादित टिमुरले बजार पाएन्

टिमुर बिक्री नहुदा समस्या भएको छ : किसान


सल्यान २२, मंसिर ।

व्यावसायिक टिमुर खेतीका लागि प्रख्यात जिल्ला सल्यानमा उत्पादित टिमुरले बजार नपाएपछि कृषक निराश भएका छन् । विगतका वर्षमा कात्तिक–मंसिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस बर्ष उत्पादित टिमुर अझै बिक्री हुन सकेको छैन । यसअघिका वर्षमा गाउँमै टिमुर खरिद गर्नका लागि आउने स्थानिय व्यापारीहरू यसपालि नआएकाले टिमुर नबिकेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका बिभिन्न ठाँउमा उत्पादित मसलेदार जंगली फल टिमुरको बिक्री नभएपछि किसान चिन्तित वनेका छन् । जिल्लाको लेखपोखरा, दमाचौरमा उत्पादित टिमुर बिक्री भएको छैन् भने निगालचुँला, कुपिण्डे दह लगाएका क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो वजार मूख्य पाउन सकेको छैन् । टिमुर खरिदका लागी ब्यापारी नआएपछि टिमुर घरमा नै थन्किएको किसानहरुको गुणासो छ ।

छत्रेश्वरी गाउँपालिका ५ महानेटाका किसान मोहन केसीले आफुले उत्पादन गरेको टिमुर बिक्री नहुदाँ घरमा नै थन्किएको बताउनुभयो । गत बर्ष टिमुर बिक्रीबाट मात्रै झण्डै ३ लाख रुपैँया आम्दानी गर्नुभएका उहाँले यस बर्ष भने आफुले उत्पादन गरेको झण्डै ३ क्वीन्टल टिमुर बिक्री नभएको बताउनुभयो ।

बिगतमा प्रतिकेजी ७ सय रुपैयाँका दरले बिक्री गरेको टिमुर यस बर्ष ४ सय रुपैँया प्रतिकेजीमा समेत बिक्री नभएको उहाँको भनाई छ । ‘मैले गहुँ मकैँ रोप्ने वारीमा टिमुर खेती गरेको छु, टिमुरका ५ सय वोटले उत्पादन दिइरहेका छन्, केही साना बोटहरु पनि रहेका छन्, टिमुर बिक्रीबाटै जीवनगुजारा चलाउदैँ आएको थिए, यस बर्ष टिमुर बिक्री नहुदाँ समस्या भएको छ’ उहाँले भन्नुभयो ।

गत बर्ष टिमुर बिक्री गरेर २ लाख ५० हजार रुपैँया बढी आम्दानी गरेका अर्का किसान लोक बहादुर डाँगीले पनि उत्पादन गरेको टिमुर यस बर्ष बिक्री नभएको बताउनुभएको छ । ‘बिगतका बर्षमा टिमुर टिप्न बित्तिकै बिक्री हुन्थ्यो, यस बर्ष आधा मंसिर जादा समेत टिमुर खरिद गर्ने ब्यापारी आएका छैनन्’ उहाँले भन्नुभयो ‘म सँग भएको झण्डै अढाई क्वीन्टल टिमुर बिक्री भएको छैन् ।’

अहिले जिल्लाका किसानहरुले उत्पादन गरेको टिमुर बिक्री भएको छैन् । टिमुर खेती गरेर नै जीवननिर्वाह गर्दै आएका किसानहरु टिमुर बिक्री नहुदाँ ठुलो मारमा परेका छन् । बिगतमा जिल्लामा उत्पादित टिमुर भारत हुँदै फ्रान्स निर्यात भएको थियो । जिल्लामा उत्पादित टिमुरलाई अग्र्यानिक टिमुरका रुपमा लिइन्छ । परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका किसान जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि टिमुरखेतीमा लागेका थिए ।

डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाबाट १७ करोड रुपैयाँ बढीको जडिबुटी निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस