सल्यान २३,मंसिर ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दिगो बिकास नै सरकारको प्राथामिकता भएको बताउनुभएको छ । क्षणिक बिकासले नागरिकको जीवनस्तरमा परिवर्तन गर्न नसक्ने भएकाले बर्षौबर्ष रहने गरी दिगो र गुणस्तरी बिकास गर्नुपर्ने बताउनुभएको हो । पूर्वाधार बिकासका कामहरु सडक, बिद्युक्त, खानेपानी लगाएतका काम सञ्चालन गर्दा बर्षौसम्म टिकाउ हुनेगरी गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ७ र्यालेमा चिसापानी लिफ्ट खानेपानी योजनाको मंगलवार शिलान्यास गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको छ । ‘अहिलेको समयमा गरिने बिकास निर्माणका कामलाई दिगो बनाउन आबश्यक छ, क्षणिकको फाइदा हेरेर काम गर्दा भबिष्यमा समस्या निम्तिन सक्छ, आज गरेको बिकासको कामले हाम्रा आगामी सन्नतीले उपयोग र फाइदा लिन सकुन्’ उहाँले भन्नुभयो ‘यसका लागी दिगो हुने खालका काम गर्नुपर्दछ, प्रदेश सरकारको ध्यान पनि दिगो बिकासमा केन्द्रित छ ।’
पछिल्लो केहीबर्ष यता जिल्लामा बिकास निर्माणका कामले तिव्रता पाएको उहाँको भनाई छ । ‘हामीले दिगो हुने गरेर बिकासका थुप्रै योजनाहरु सञ्चालन गरेका छौँ, समृद्ध सल्यान निर्माण गर्ने अभिभारा हाम्रो काँधमा छ, मिलीजुली बिकासका काम गर्न सबैमा आग्रह गर्दछु’ उहाँले भन्नुभयो । उहाँले खानेपानी आयोजनालाई दिगो बनाउने गरी गुणस्तरीय काम गर्न सुझाव दिनुभएको छ ।
कार्यक्रममा बोल्दै खानेपानी, सिँचाई तथा ऊर्जा बिकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले रु. १ करोड ७० लाखको लागत स्टामेट अनुसार खानेपानी योजना निर्माणको काम शुरु गरिएको जानकारी दिनुभयो । यसका लागी अहिले रु. १० लाखको वजेट मार्फत काम शुरु गरिएको उहाँको भनाई छ । यस आयोजना मार्फत झण्डै १ सय घरधुरीमा खानेपानी पुग्ने छ ।
यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लिला बहादुर रोकाले घरघरमा स्वच्छ खानेपानी स्थानियको आबश्यकता भएकाले यस योजनालाई छिटो सम्पन्न गर्न आग्रह गर्नुभएको छ । यससँगै वडामा हुने सडक, बिद्युक्तलाई पनि प्राथामिकता दिएर काम गरिरहेको उहाँको भनाई छ ।
यस्तै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी अध्यक्ष नविन सिंह भडेँलले जिल्लामा दर्जनौँ बिकास निर्माणका काम सञ्चालन गर्नका लागी पहल भैरहेको बताउनुभएको छ । यस्तै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले लामो समयको प्रयासपछि खानेपानी योजना छनोट भएको र अहिले सञ्चालनको लागी काम भैरहेको बताउनुभएको छ । साथै सडक, बिद्युक्त लगाएतका पूर्वाधार बिकासका लागी पनि पहल भैरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा खानेपानी, सिँचाई तथा ऊर्जा बिकास कार्यालय सल्यानका इन्जिनियर विपिन ज्ञवाली, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य राम खड्की, इश्वरी बुढाथोकी, तिलक कुमार बिक लगाएतको आतिथ्यता रहेको थियो । चिसापानी खानेपानी तथा सरफाई उपभोक्ता समितीका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य रेमन्त थापाले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार बुद्धि पुनले गर्नुभएको थियो ।