भ्रष्टाचार अन्त्य : “दिवशमा होइन, ब्यवहारमा हुनुपर्छ”


सल्यान २४, मंसिर ।
भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपालमा भ्रष्टाचार बढ्दै गएको बिभिन्न तथ्यांक सार्वजनिक भैरहेको बेला उनीहरुले भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताएका हुन् । ‘भ्रष्टाचार बिरुद्धको सहकार्य ः सुशासनका लागी अपरिहार्य’ भन्ने नाराका साथ आज १७ औँ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अबशरमा जिल्ला प्रशासन कार्यालय सल्यानमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले भ्रष्टाचार न्यूनिकरणका लागी दिवशमा होइन, ब्यवहारमा लागु गर्नुपर्ने बताएका हुन् । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले भ्रष्टाचार नगर्ने प्रतिबद्धता ब्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । राजनितिक, सामाजिक, आर्थिक र नैतिक कारणले गर्दा मान्छेहरु भ्रष्टाचार गर्ने गरेको बताउदैँ उहाँले यसको रोकथामको लागी सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
भ्रष्टाचारलाई न्यूनिकरण गर्न सकिन्छ, तर अन्त्य गर्न सकिदैन् उहाँले भन्नुभयो । आर्थिक क्रियाकलापमा मात्रै भ्रष्टाचार नहुने बताउदैँ निति गत रुपमा समेत भ्रष्टाचार हुने गरेको र जिल्लामा भ्रष्टाचार हुन नदिनका लागी सबै क्षेत्रले प्रण गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वय र हरप्लेस नेपाल सल्यान, रेस नेपाल सल्यान र इन्सेक नेपाल सल्यानको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस