बागचौर नगरपालिकाद्वारा कोरोना रोकथाममा सवाँ करोड खर्च


सल्यान २७, मंसिर ।
सल्यानको बागचौर नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि हालसम्म एक करोड रुपैँया बढी खर्च गरेको छ । २०७६ चैत्र देखि हालसम्म नगरपालिकाले कोरोना रोकथामका लागि १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ खर्च गरेको जनाएको छ । नगरपालिकाले शनिबार पत्रकार सम्मेलन मार्फत खर्च विवरण सार्वजनिक गरेको हो ।
जसमा सबैभन्दा धेरै क्वारेन्टाइनमा बसेकाहरुलाई खाना तथा आवासमा २६ लाख २० हजार ६ सय रुपैयाँ खर्च भएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्यकर्मी तथा सवारी चालकलाई प्रोत्सान भत्तामा रु.२३ लाख ३ हजार ९ सय ६६, स्वास्थ्य सामाग्री खरिदमा रु.२२ लाख २ हजार ४ सय ६७, राहत वितरणमा रु.२१ लाख ५८ हजार ९३, स्वंयसेवकहरु परिचालनमा रु.१८ लाख ५४ हजार, स्वंयमसेवकको खाजामा रु.८ लाख २४ हजार खर्च गरेको जनाएको छ । यस्तै क्वारेन्टाइन निर्माणमा रु.२ लाख ५९ हजार ६ सय ४५, क्वारेन्टाइन व्यवस्थापनमा रु.१ लाख ४७ हजार ९ सय ६५, नागरिक उद्धारमा रु.१ लाख ९१ हजार ७ सय ५० र अन्य विभिन्न काममा २ लाख ५ हजार ६ सय ६८ रुपैयाँ खर्च भएको नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
नगरको कोरोना कोषमा बागचौर नगरपालिकाको रकमान्तर, संघीय तथा प्रदेश सरकारको सहयोग र विभिन्न तहका व्यक्तीहरुले गरेको सहयोगबाट २ करोड ६१ लख ३५ हजार १ सय ३५ रुपैँया जम्मा भएको थियो । जसमा १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ हालसम्म खर्च भएको छ भने १ करोड ३३ लाख ६६ हजार ९ सय ८१ रुपैयाँ खर्च हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस