अध्यक्ष सेनद्धारा साना किसान कृषि सहकारीको नयाँ भवनको शिलान्यास

जीत प्रसाद आचार्य
सल्यान २९, मंसिर ।
सल्यानको कपुरकोटमा रहेको साना किसान कृषि सहकारी संस्थाले नयाँ भवन निर्माण गर्ने भएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोटमा ६ कोठे नयाँ भवन निर्माण गर्ने भएको हो । संस्थाको आन्तरिक पुजीँबाट खर्च हुने गरी करिब ६० लाखको लागतमा भवन निर्माण गर्न लागिएको हो । भवनलाई आगामी २ बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकरी संस्थाका प्रबन्धक तिर्थराज शर्माले जानकारी दिनुभयो ।

कुल ११ करोड रुपैँया लगानी गरेको यस संस्थामा शेयर पुँजी १ करोड २५ लाख रहेको छ भने निक्षेप ४ करोड रहेको छ । संस्थामा हाल ११ सय ८० जना महिला र २ सय ९६ जना पुरुष गरेर कुल १४ सय ७६ शेयर सदस्य रहेको उहाँको भनाई छ ।

यसैबिच संस्थाले निर्माण गर्न लागेको भवनको आइतवार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले शिलान्यास गर्नुभएको छ । भवनको शिलान्यास गर्दै उहाँले किसानहरुलाई गोलबद्ध गर्दै आयआर्जनका कार्यमा सरिक बनाउन यस सहकारीको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । यस संस्थाले गरिवी न्यूनिकरण गर्दै आर्थिक उपार्जनका कार्य सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्माण गरेको र यसलाई अझ बृहत वनाउनको लागी गाउँपालिकाले सक्दो पहल गर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष डम्बर बहादुर यरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनले सरकारीले वचतमा मात्रै नभएर आयआर्जनका कार्यमा अझै ब्यापकताका साथ लगानी बढाउनुपर्ने बताउनुभयो । संस्थाका उपाध्यक्ष मनिराम राणाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सहप्रवन्धक जीत प्रसाद आचार्यले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस