सल्यानको बागचौर र कालीमाटीमा भूमिहीनको लगत संकलन गर्न समझदारी

सल्यान १, पुस ।
भूमि सम्बन्धी समस्या समाधान आयोगले सल्यानका २ पालिकासँग भूमिहिन सुकुम्बासीको लगत संकलन गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । जिल्लाको बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकाका जनप्रतिनिधिहरु सँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । जसमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिने छ ।

यसैसबिच आयोगले कर्णालीका १५ पालिकामा रहेका भूमिहीनहरुको वास्तविक लगत संकलनका लागि जनप्रतिनीधिहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुर्खेतका नौ पालिका, रुकुम पश्चिमका मुसिकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणि गाउँपालिका, जाजकोटको भेरी नगरपालिकाका जनप्रतिनिधिसँग लगत संकलन गर्न वीरेन्द्रनगरमा समझदारी पत्रमा हस्ताक्षर गरिएको आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

आयोग एक्लैले गर्दा तथ्यगत विवरण नआउने भएकाले पालिकाहरुलाई सबै विवरण संकलन गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको ज्ञवालीले बताउनुभयो । आयोगले समझदारी गरेसँगै पालिकाहरुले नै सुकुम्बासीको पहिचान, लगत संकलन र प्रमाणीकरणको काम गर्ने छन् । लगत संकलनको संयोजकमा पालिकाका नगरप्रमुख र अध्यक्ष छन् । पालिकाहरुले गर्ने लगत संकलनले एकिन विवरण आउने र वास्तविक भूमिहीनले मात्रै लालपूर्जा दिनमा सहज हुने अपेक्षा समेत आयोगको छ ।

 

 

प्रतिक्रिया दिनुहोस