सबै नागरिकलाई खानेपानीको पहुँचमा ल्याउछौँ : मन्त्री ज्वाला

५१ घरधुरीका लागी खानेपानी योजना निर्माण शुरु


जीत प्रसाद आचार्य,
कपुरकोट, पुस १ ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा खानेपानी योजना निर्माणको थालनी गरिएको छ । बस्ती नजिकमा खानेपानीको मुहान नहुदाँ टाढाबाट पानी वोकेर जीवनयापन गर्दै आएका स्थानियको सहजताको लागी कपुरकोट गाउँपालिका वडा नम्बर ३ कटौँजेरीमा लिफ्ट प्रविधि मार्फत खानेपानी योजना निर्माणको थालनी गरिएको हो ।
क्रमागत योजना मार्फत रु. २५ लाखको वजेट बाट यस पटक खानेपानी योजना निर्माणको थालनी गरिएको छ । बर्षौ देखी खानेपानी समस्या भोग्दै आएको र अब निर्माण कार्य सम्पन्न भएमा सहजता आउने निर्माण उपभोक्ता समितीका अध्यक्ष दिपेन्द्र वलीले बताउनुभयो । अहिले खानेपानीको जोहो गर्दैमा दैनिकी बित्ने गरेको बताउदैँ अबका दिनमा यसले सहजता थप्ने उहाँको भनाई छ ।
कटौंजेरी खानेपानी योजनाको बुधबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको छ । खानेपानी योजनाको शिलान्यास गर्दै उहाँले सबै नागरिकलाई खानेपानीको पहुँचमा ल्याउन प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । अझै पनि केही नागरिकहरु शुद्ध खानेपानीको पहुँच बाहिर रहेको बताउदैँ उहाँले ती सवै नागरिकलाई खानेपानीको पहुँचमा ल्याउनका लागी सरकारले मुख्य प्राथामिकता दिएर काम गरिरहेको बताउनुभयो ।
प्रदेश सरकारको वजेट बार्फत केही खानेपानी योजना सम्पन्न भएको र केही योजना निर्माणको चरणमा रहेका छन्, सबै नागरिकलाई खानेपानीको पहुँचमा ल्याउने गरी काम गरिरहेका छौँ उहाँले भन्नुभयो । अब खानेपानीको पहुँचबाट कोही पनि नागरिक टाढा हुनु पर्दैन्, भौगोलिक विकटताले तत्काल योजना गर्न सम्पन्न गर्न समस्या भएको बताउदैँ लिफ्ट प्रविधिको प्रयोग गरेरै भएपनि नागरिकका घर घरमा खानेपानी पु¥याउने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले दिगो र टिकाउ हुने गरी खानेपानी योजनाको निर्माण काम सम्पन्न गर्न सुझाव दिनुभएको छ । योजना दिगो नहुदाँ नागरिकले नै सास्ती पाउने भएकाले गुणस्तरीयता कायम गर्दै छिटो काम सम्पन्न गर्न सुझाव दिनुभएको हो ।
कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) सल्यान क्षेत्र नम्बर २ का इन्चार्ज उदय बोहरा, नेकपा प्रदेश कमिटी सदस्य तया नेकपा सिद्ध कुमाख गाउँ कमिटी इन्चार्ज भद्रसिंह बुढा, नेकपाका कपुरकोट गाउँ कमिटी अध्यक्ष घनश्याम शर्मा, नेकपाका जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, टोपेन्द केसी, शिवराज बिक, शिक्षक महासंघका अध्यक्ष मदुसुधन गिरी लगाएतको सहभागिता रहेको थियो ।
यस खानेपानी योजनाबाट यहाँका ५१ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । कार्यक्रमको सहजीकरण नारायण खड्काले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस