सल्यान २, पुस ।
स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितीका पदाधिकारीहरुको लागी क्षमता अभिबृद्धि तालिम सल्यानको सरिकोटमा शुरु भएको छ । जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्बर ४ मा रहेको सरिकोट स्वास्थ्य चौकीमा स्वास्थ्यचौकी ब्यवस्थापन समितीका पदाधिकारीहरुको लागी २ दिने तालिम आज देखी शुरु भएको हो ।
त्रिबेणी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्यका लागी सक्षम प्रणालीको प्राविधिक सहयोगमा बिहीबार देखी शुरु भएको तालिम शुक्रवार सम्म सञ्चालन हुने छ । तालिममा स्वास्थ्य चौकी ब्यवस्थापन समितीको काम, कर्तव्य, यसको ब्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र आबश्यक स्रोत ब्यवस्थापन तथा परिचालनका बिषयमा प्रशिक्षण प्रदान गरिरहेको स्वास्थ्य शाखा संयोजक प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस प्रकारको तालिमले गुणस्तरीय र छिटो, छरितो स्वास्थ्य सेवा प्रवाह गर्नमा थप सहजता प्रदान गर्ने उहाँको भनाई छ । गाउँपालिकाले पनि सरिकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभएको छ । तालिममा स्वास्थ्य चौकी ब्यवस्थापन समितीका पदाधिकारी गरेर १० जनाको सहभागिता रहेको छ ।
यसैबिच तालिम उद्घाटनका क्रममा बोल्दै गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले गुणस्तरीय र छिटो, छरितो स्वास्थ्य सेवा प्रवाहको लागी गाउँपालिकाले काम गरिरहेको जानकारी दिनुभएको छ । स्वास्थ्य क्षेत्र गाउँपालिकाको पहिलो प्राथामिकतामा रहेको बताउदैँ उहाँले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँचमा ल्याउने गरि काम गरिरहेको जानकारी दिनुभएको छ । नागरिकको स्वास्थ्यको लागी विदाको दिनमा समेत स्वास्थ्य संस्था सञ्चालन गर्ने लगाएतका महत्वपूर्ण काम गाउँपालिकाले गर्दै आएको उहाँको भनाई छ ।