सल्यान ९, पुस ।
सल्यानका सबै धार्मिक तथा साँस्कृतिक सम्पदाहरु खुला भएका छन् । कोरोनाको जोखिमका कारण गत चैत महिना देखी बन्द भएका जिल्लाका सबै धार्मिक तथा साँस्कृतिक सम्पदाहरु अहिले खुला भएका हुन् । कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै सबै धार्मिक तथा साँस्कृतिक सम्पदाहरु बन्द गरिएको थियो ।
जसका कारण जिल्लामा रहेका सबै धार्मिक स्थलहरु सुनसान बनेका थिए । सरकारले घोषणा गरेको एक सय पर्यटकिय गन्तब्य भित्रमा पर्ने मिनि रारा अर्थात कुपिण्डे ताल सहित खैरावाङ मन्दिर, छत्रेश्वरी मन्दिर छाँयाक्षेत्र, चाँदनी साततले गुफा लेखपोखरा, लक्ष्मीपुर शक्तिपिठ लक्ष्मीपुर, शिव गुफा मोखला लगाएतका धार्मिक तथा साँस्कृतिक सम्पदाहरु बन्द गरिएको थियो ।
धार्मिक स्थलहरुमा दैनिक गरिने नृत्यकर्म बाहेक भक्तजनहरुको लागी गरिने पुजाआरधना लगाएका सबै कार्य बन्द गरिएको थियो । अहिले कोरोना भाइरसको जोखिम कम हुदैँ गएकाले आबश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर धार्मिक तथा साँस्कृतिक सम्पदा सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ संयोजक रहेको जिल्ला स्तरीय कोभिड १९ संक्रमण ब्यवस्थापन समिती (डिसिसिएमसि) को हालै सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले कोरोनाबाट बच्न आबश्यक सर्तकता अपनाउदैँ जिल्लामा रहेका सबै धार्मिक तथा साँस्कृतिक सम्पदाहरु खुला गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
दुरी कायम गर्दै मास्क, स्यानिटाइजर लगाएत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्रै मठमन्दिर, मस्दिज, चर्च लगाएतका धार्मिक तथा साँस्कृतिक स्थलहरु सञ्चालन गर्न दिने निर्णय भएको उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालय सल्यानले निर्णय गरेसँगै अहिले जिल्लामा रहेका सबै धार्मिक तथा साँस्कृति सम्पदाहरु खुल्न थालेका छन् ।
धार्मिक तथा पर्यटयिक हिसावले अब्बल मानिएको सल्यानमा बन्द सम्पदाहरु खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने र यसले जिल्लाको पर्यटन ब्यवसाय सँगै आर्थिक क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ ।