ज्ञानेन्द्रलाई ढाल्नेले केपिलाई ढाल्न कुनै बार पर्खनु पर्दैन : ज्वाला

सल्यान १४, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले केपि ओली नेतृत्वको सरकार अब धेरै दिन टिक्न नसक्ने बताउनुभएको छ । उकान टुक्काले देश नचल्ने भएकाले केपी नेतृत्वको सरकार अब धेरै नटिक्ने उहाँले बताउनुभएको हो ।

प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यानले खलंगामा आयोजना गरेको बृहत बिरोध प्रदर्शनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सिंगो मुलुक नै हातमा लिएर सत्ता संचालन गरेका राजा ज्ञानेन्द्रलाई ढाल्नेले केपिलाई ढाल्न कुनै बार पर्खनु नपर्ने उहाँको भनाई छ । ओलीले देश र मुलुकको हितमा काम नगरेको उहाँको भनाई छ ।

जनताले स्थीर सरकार र विकास निर्माणका काम गर्नका लागी मत दिएको बताउदैँ उहाँले ओलीले जनताले दिएको मतको अपमान गरेको बताउनुभयो । ‘अहिले जनता सडकमा आर्लिएका छन्, त्यो ओलीका कारणले हो, ओलीले जनमतको अपमान गरे, ओलीको विकल्प खोजिरहेका छन्, आउदोँ चुनावमा ओली समुहको पत्तासाप हुन्छ’ उहाँले भन्नुभयो ।

ज्वालाले नेता, कार्यकर्ता र जनता आफुसंग भएकाले नेकपा पार्टी आफ्नो भएको बताउनुभयो । ‘केन्द्रमा होस या जिल्लास्तरमा, जहाँ पनि दुइ तिहाइ नेता कार्यकर्ता र जनता हाम्रो साथमा रहेका छन, त्यसैले यो पार्टी नेकपा, चुनाव चिन्ह सुर्य सबै हाम्रो हो, हामी संस्थापन पक्ष हौँ, टुक्रिएर गएको केपि पक्षले पार्टीको नाम र चिन्हमा दाबि गर्नु व्यर्थ हो’ उहाँले भन्नुभयो । ज्वालाले गाइजात्रा गर्दैमा पार्टी नचल्ने भएकाले निति बिधि र पद्धति अनुसार चल्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले प्रधानमन्त्री ओलीले गैरजिम्मेवारपन देखाएको बताउनुभएको छ । लामो समयको संघर्ष र जनताको बलिदानबाट मात्रै नेपालमा गणतन्त्र आएको र जनताले स्थीर सरकार चाहेको तर ओलीले गैरजिम्मेवारपन देखाएर जनमतको अपमान गरेको उहाँको भनाई छ ।

कार्यक्रममा पार्टीका नेताहरु उमाकान्त शर्मा, धिरेन्द्र श्रेष्ठ, उदय बोहोरा, कृतिबहादुर पुन, निम बहादुर केसी, भद्रसिंह बुढा, टिका बुढाथोकी लगाएतकाले बोल्नुभएको थियो । पार्टीका जिल्ला कमिटी सचिव कर्ण बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज हरी केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य रमेश कु्मार गौतमले गर्नुभएएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस