सल्यान १५, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नव नियुक्त केन्द्रिय सदस्य निरज सिंहले पद अस्वीकार गर्नुभएको छ । सल्यानबाट सिंह सहित ५ जनालाई केपि ओली समुहले अनेरास्ववियुको केन्दिय कमिटीमा गत पुस १० गते मनोनित गरेको थियो । आज सामाजिक सञ्चालन फेसबुकमा स्टाटस लेख्दै सिंहले आफुलाई मनोनित गरिएको केन्द्रिय कमिटी सदस्य पद फिर्ता गरिएको जानकारी दिनुभएको छ ।
उहाँले ओली समुहले गरेको मनोनित आफुलाई स्वीकार्य नभएको र आफु सच्चा नेकपाको आधिकारीक बिद्यार्थी संगठनमा रहेको बताउनुएको छ । ‘अनेरास्ववियु केन्द्रिय कमिटीले मलाइ दिएको केन्द्रिय सदस्य पद उहाँलाई नै फिर्ता गरेको घोषणा गर्दछु, म हिजोदेखी नै वर्गसंघर्षको वकालत गर्दै आएको छु र निरन्तर सच्चा नेकपाको विद्यार्थीको आधिकारिक लाइनमा नै रहेको जानकारी गराउँदछु’ उहाँले स्टाटसमा लेख्नुभएको छ । नेकपाको बिद्यार्थी संगठन अनेरास्ववियुमा क्रियाशिल सिंह नेकपाको दाहाल नेपालमा पक्षमा रहनुभएको छ ।