नेकपा सल्यानद्धारा पार्टी अध्यक्ष पुनलाई कारवाहीका लागी सिफारिस

सल्यान १६, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानका जिल्ला अध्यक्ष गोबिन्द कुमार पुनलाई कारवाहीका लागी सिफारिस गरिएको छ । जिल्लाको सदरमुकाम खलंगामा बसेको नेकपाको तेस्रो बैठकले जिल्ला अध्यक्ष पुनलाई कारवाहीका लागी प्रदेश कमिटीमा सिफारिस गरिएको बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

पार्टीका दुई तिहाइ जिल्ला कमिटी सदस्यहरुको बैठकले जिल्ला अध्यक्ष पुनले प्रधानमन्त्री ओली कै गलत कदमलाई सहयोग गरेकाले उहाँलाई जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारीबाट पदमुक्त गर्नको लागी प्रदेश कमिटीमा सिफारिस गरिएको नेकपाले जनाएको छ । नेकपाको प्रचण्ड नेपाल पक्षले आफुसँग दुइ तिहाई जिल्ला कमिटी सदस्य रहेको र जिल्ला अध्यक्ष पुनले ओलीको असंवैधानिक कदमलाई सहयोग गरेकाले यस्तो निर्णय गरिएको जानकारी दिएको छ ।

यस्तै बैठकले प्रदेश कमिटी सदस्यहरुलाई कार्यविभाजन गरी अनुमोदनका लागी प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ । जसअनुसार त्रिबेणी गाउँ कमिटी इन्चार्जमा टिका बुढाथोकी र सिद्ध कुमाख गाउँ कमिटी इन्चार्जमा सुम्निमा डिसीलाई तोकिएको जनाएको छ। यस्तै सिद्ध कुमाख इन्चार्ज रहेका भद्रसिंह बुढालाई कपुरकोट इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै बैठकले जिल्लाका दश वटै स्थानिय तहमा बिरोध प्रदर्शन तथा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जसमा शारदा नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा पुस १७ गते, कुमाख गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा पुस १८ गते, दार्मा गाउँपालिका र त्रिबेणी गाउँपालिकामा पुस १९ गते पार्टीको भेला, बैठक, प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै कपुरकोट गाउँपालिका र बागचौर नगरपालिकामा पुस २० गते र कालीमाटी गाउँपालिका तथा सिद्ध कुमाख गाउँपालिकामा पुस २१ गते पार्टीको भेला, बैठक, प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको नेकपा प्रचण्ड नेपाल पक्षले जनाएको छ । यस्तै बैठकले जनवर्गिय संगठनका जिल्ला भेला र बैठक तत्काल आयोजना गर्न निर्देशन दिदैँ यही पुस २१ गते सल्यानको श्रीनगरमा युवा र बिद्यार्थीहरुको जिल्ला भेला गर्ने निर्णय गरेको छ ।

यस्तै जनता समाजवादी पार्टीवाट प्रवेश गरेका सन्तोष कुमार राई र दिपक सोनीलाई जिल्ला कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको नेकपाले जनाएको छ । यस्तै माघ १ गते सल्यानमा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षणको आयोजना गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले प्रचण्ड नेपाल पक्ष नै आधिकारिक नेकपा भएको बताउनुभएको छ । यस्तै पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेकबहादुर बस्नेतले अलमलमा नपरेर आधिकारिक नेकपा प्रचण्ड नेपाल पक्षमा आबद्ध हुने कार्यकर्तामा आग्रह गर्नुभएको छ । नेकपाका जिल्ला सचिव कर्णबहादुर बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित