सल्यान १८, पुस ।
सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि उद्धार केन्द्र निर्माण गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । वन कार्यालयको परिसर भित्रमा उद्धार केन्द्र स्थापना गरिएको हो । घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढंगले गर्ने र निकोभएपछि पुनः वासस्थानमा छोड्ने गरी केन्द्र स्थापना गरिएको हो ।
डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले वन्यजन्तुको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वन्यजन्तु उद्धार केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले जिल्लामा नै पहिलो पटक वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको रु. १ लाख रुपैँया वजेट मार्फत केन्द्र स्थापना गरिएको उहाँको भनाई छ ।
‘नागरिकको नियन्त्रणमा रहेका तथा वन्यजन्तुका साथै कुकुरको आक्रमणमा परेर घाइते भएका र सवारी साधनले ठक्कर दिएर घाइते भएका वन्यजन्तुको उद्धार गरेर राखिने छ, उपचार पश्चात फेरी सोही स्थानमा छोडिने छ’ उहाँले भन्नुभयो । घाइते अवस्थामा रहेका वन्यजन्तुहरुलाई त्यसै छोड्दा मर्न सक्ने र लोप भएर जाने सम्भावना भएकाले वन्यजन्तुको संरक्षणका लागी यो कोसेढुंगा सावित हुने उहाँको भनाई छ ।
डिभिजन वन कार्यालयका अनुसार गत बर्षमा मात्रै झण्डै २ दर्जन वन्यजन्तुको उद्धार गरिएको थियो । कार्यालयका सुचना अधिकारी मनोज शर्मा लम्सालले गत आर्थिक वर्षमा १४ वटा रतुवा, ५ वटा घोरल, १ वटा हाइना गरी २० वटा बन्यजन्तु उद्धार गरिएको जानकारी दिनुभयो । यस्तै चालु आर्थिक बर्षको साउन महिनायता १ वटा घोरल र १ वटा वन विरालो गरी २ वन्यजन्तुको उद्धार गरिएको उहाँको भनाई छ ।
‘जिल्लामा अहिले सम्म वन्यजन्तु उद्धार केन्द्र थिएन, हामीले पहिलो पटक केन्द्र स्थापना गरेका छौँ’ उहाँले भन्नुभयो ‘पहिले राख्ने ठाउँ नहुँदा समस्या हुन्थ्यो, घाइते वन्यजन्तु ल्याएर एउटा कोठामा राख्नुपथ्र्यो, अहिले उद्धार केन्द्र स्थापना गरेका छौँ, अवका दिनमा सहजता हुने छ ।’ मान्छेलाई देख्दा वन्यजन्तु तर्सिने भएकोले रुख विरुवाको बिचमा उद्धार केन्द्र राखिएको उहाँको भनाई छ ।
घाइले वन्यजन्तुको जंगलबाट उद्धार गरेर पशु सेवा कार्यालयको सहयोगमा औषधि उपचार गर्ने र निको भएपछि उसको प्राकृतिक बासस्थानमा लगेर छोडिदिने गरेको डिभिजन वन कार्यालय सल्यानले जानकारी दिएको छ ।