कार्यकर्ता साथमा भए मैदानमा आउन ओली समुहलाई ज्वालाको चुनौती

सल्यान २१, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले नेकपाका सबै कार्यकर्ता नेकपाको आधिकारिक पक्ष, संस्थापन पक्षमा रहेको बताउनुभएको छ । उहाँले सल्यानमा पार्टीका सबै नेताकार्यकर्ता आफुसंग भएको र कार्यकर्ता बिहिन ओली समूहले बन्द कोठामा कार्यक्रम गर्ने गरेको बताउनुभएको हो । नेकपाको भातृसंगठन युवा संघ र अनेरास्ववियुको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई मंगलवार जिल्लाको श्रीनगरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘हामी पार्टीको संस्थापन पक्ष हौँ, पार्टी, चिन्ह, लोगो सबै हाम्रो हो, यसमा कार्यकर्ताले दुबिधा मान्नु पर्दैन, नेता कार्यकर्ता हाम्रो साथमा भएकै कारण हामी बिशाल भेला तथा प्रशिक्षण खुल्ला ठाउँमा गर्दै आएका छौँ’ उहाँले ओली समुहप्रति संकेत गर्दै भन्नुभयो ‘नेता कार्यकर्ता नभएकाहरुले एउटा कोठामा सिमित रहेर कार्यक्रम गर्छन् ।’ उहाँले साँच्चै कम्युनिस्ट पार्टीका कार्यकर्ता भए खुल्ला मैदानमा आउन आग्रह गर्नुभयो ।

ज्वालाले प्रधानमन्त्री ओलीले गरेको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको बिरुद्धमा जिल्लामा दश वटै स्थानिय तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको बताउनुभयो । ‘सबै स्थानिय तहमा कार्यकर्ताको उत्साहजनक ढंगले सहभागिता भएको छ’ उहाँले भन्नुभयो ‘अब प्रचण्ड नेपालले नेतृत्व गरेको नेकपाको विकल्प छैन् भन्ने कार्यकर्ताहरुले महशुस गरिसकेका छन् ।’

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत, केन्द्रीय परिषद सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, प्रदेश कमिटी सदस्य हरी केसी, युवा नेताहरु रमेश कुमार गौतम, तिलक भण्डारी, गणेश शाही, रमेश मल्ल लगाएतकाले बोल्नुभएको थियो । युवा संघका जिल्ला संयोजक प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक न्यूटन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रको संचालन अनेरास्ववियुका जिल्ला संयोजक चेतन गिरीले गर्नुभएको थियो ।

यसैबिच नेकपाको ओली समुहको युवा तथा बिद्यार्थीहरुको भेला तथा प्रशिक्षण खलंगामा सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य गुलावजंग शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोबिन्द पुन, लोक बहादुर डाँगी लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस