सल्यानमा लकडाउन पछि घरेलु तथा साना उद्योग दर्ता गर्ने बढे

सल्यान २४, पुस ।

सल्यानमा लकडाउन पछि घरेलु तथा साना उद्योग व्यवसाय बढेका छन् । कोरोना संक्रमणपछि गरिएको लकडाउन खुलेसँगै जिल्लामा उद्यम व्यवसाय दर्ता हुने क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा पछिल्लो समय व्यवसाय दर्ता गर्ने सेवाग्राही बढेको कार्यालयले जनाएको छ ।

अहिले दिनहुँ जसो सेवाग्राहीहरु फर्म दर्ताका लागी आउने गरेको छन् । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २ सय २८ जनाले फर्म दर्ता गरेका छन् । जसमा कृषि तथा पशुपंक्षी र वन तर्फ मात्रै १ सय ८४ वटा फर्म दर्ता भएका छन् । जसअनुसार निजी फर्म २ सय २४ र साझेदारी फर्म ४ वटा रहेका छन् ।

यी फर्ममा कुल पुँजी ३८ करोड २४ लाख ६७ हजार रुपैँया रहेको कार्यालयका सुचना अधिकारी धुर्व बहादुर खत्रीले जानकारी दिनुभयो । ‘कोरोना पश्चात पछिल्लो समय जिल्लामा फर्म दर्ता गर्नेहरुको संख्या धेरै छ, पहिलो चौमासिक तथ्यांक हेर्दा अहिले नै झण्डै गत बर्षभरी कै जति फर्म दर्ता भैसकेका छन्, जसमा कृषि तथा पशु र वन क्षेत्रसँग सम्बन्धित उद्योग धेरै दर्ता भएका छन्’ उहाँले भन्नुभयो ‘बैदेशिक रोजगारीबाट घर फर्किएका युवाहरुको नै आकृर्षण धेरै देखिन्छ ।’

यस आर्थिक बर्षको पहिलो चौमासिकमा कार्यालयले झण्डै ६ लाख रुपैँया राजस्व संकलन गरेको उहाँको भनाई छ । ‘विगतको तुलनामा यस अबधिमा थोरै राजस्व संकलन भएको छ, यसको मुख्य कारण भनेकै दर्ता नविकरणमा राजस्व कम लिने निति बन्नु र जिल्लामा महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्नु हो’ उहाँले भन्नुभयो । उहाँले महिलाको नाममा फर्म दर्ता गर्दा पुरुषको भन्दा आधा राजस्व लाग्ने भएकाले पनि महिलाका नाममा फर्म दर्ता गर्नेको संख्या धेरै भएको जानकारी दिनुभयो ।

अहिले दर्ता भएका उद्योगले ७३ जना महिला र १ सय ११ जना पुरुष गरेर १ सय ८४ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरिरहेका छन् । सुचना अधिकारी खत्रीका अनुसार यस बर्षपनि जिल्लामा झण्डै ३ सय नागरिकलाई सिपमुलक तालिम प्रदान गर्ने तयारी भैरहेको छ । जिल्लाका दश वटै स्थानिय तह सँगको समन्वयमा स्थानियको मागको आधारमा सिपमुलक तालिम सञ्चालन गर्ने गरी तयारी गरिरहेको उहाँको भनाई छ ।

संघीय, प्रदेश र स्थानीय सरकारले कृषिमा दिने अनुदान लिन अनिवार्य फर्म दर्ता गरेको हुनुपर्ने प्रावधानका कारण उद्योग दर्ता गर्नेहरुको संख्या बढेको बताइएको छ । दर्ता गरेका अधिकाशंले कुनै न कुनै सरकारबाट अनुदान लिएका छन् भने अधिकांश प्रक्रियामा छन् । अनुदान लिनकै लागि उद्योग दर्ता गर्ने लहर चलेको छ ।

 

प्रतिक्रिया दिनुहोस