मुलुकको राजनितिक निकासको मुल बाटो निर्वाचन : बिष्ट

सल्यान ४, माघ ।
मतदाता नामावली अध्यावधिक कार्यक्रमका बारेमा सल्यान जिल्लाका सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रम आइतवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले मुलुकको राजनितिक निकासको मुल बाटो निर्वाचन भएको बताउनुभएको छ ।

उहाँले बहुमत प्राप्त सरकारले संसद बिघटन गर्नु आफैँमा राम्रो नभएपनि मुलुकको निकासको लागी अबको बाटो निर्वाचन भएको भएको बताउनुभएको हो । ‘मुलुकमा स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागी सबै क्षेत्र मिल्नु आबश्यक छ, सरकारले विघटन गरेको संसद पुर्नस्थापना हुने या नहुने त्यो अदालतको पाटो हो, तर यस्तो अवस्थामा मुलुकलाई निकास दिनको लागी निर्वाचनमा हुनुको विकल्प छैन्’ उहाँले भन्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाको ओली समुहका नेता मनोज सिंहले आगामी बैशाखमा तय भएको निर्वाचनमा सहभागि हुन सबैमा आग्रह गर्नुभएको छ । ताजा जनादेशका लागी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताउदैँ उहाँले निर्वाचनको तयारीमा लाग्न सबैमा आग्रह गर्नुभयो ।

यस्तै नेपाली काँग्रेसका प्रतिनिधि रामचन्द्र केसीले वर्तमान सरकारले गर्नु नपर्ने काम गरेको बताउदैँ अब निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो । यस्तै राप्रपाका प्रतिनिधि अन्जित श्रेष्ठले देशभर निर्वाचनको माहोल शुरु भएकाले चुनावको तयारीमा लाग्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा सुरक्षा निकाय, कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साहले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस